स्वर्गद्वारी गुठी संरक्षण हुने गरी मोही किसानलाई न्याय प्रदान गर्न सांसद गिरीको माग

मंगलबार, माघ २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले स्वर्गद्वारी गुठी संरक्षण हुने गरी  आन्दोलनरत मोही किसानहरूलाई न्याय प्रदान गर्न माग  गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले वास्तविक मोही किसानको पक्षमा भएको सहमतिअनुसार सरकारले यथाशीघ्र न्याय प्रदान गर्न माग  गरेका हुन्। उनले भने, “स्वर्गद्वारी आस्थाको धरोहरका रुपमा रहेको छ । यसको संवर्द्धन र प्रवर्द्धनका लागि सरकारको चासो रहनुपर्छ ।” 

सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै केही समयदेखि स्वर्गद्वारी गुठी पीडितहरू आन्दोलनरत छन् । मोही किसानहरूलाई मोही पुर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व मंत्री गिरीले वास्तविक मोही किसानको पक्षमा सहमति अनुसार सरकारले उनीहरुलाई न्याय प्रदान गरोस् भन्ने माग गरे।  उनले तपोभूमि, आस्थाको धरोहर स्वर्गद्वारी आश्रमको जमीन अन्य कुनै संघसंस्था वा नक्कली मोहीले भोग चलन गरिरहेका छन् भने त्यसको पनि छानबिन गर्न उनले माग गरे।  "

“स्वर्गद्वारी आश्रमको दाङ देउखुरी र घोराही लगायतमा रहेको जग्गा यदि कुनै संघसंस्थाले वा गैरमोही किसानका नाममा भोगचलन भइरहेको छ भने त्यसको पनि राज्यले खोजतलास गरोस् । गुठीको जमीन कुनै पनि भू माफियाले उपभोग गर्न पाउनु हुँदैन," उनले भने।  
नेपालमा मात्रै हैन भारतमा पनि स्वर्गद्वारी प्रभु प्रति ठूलो आस्था रहेको उनले बताए।  बर्षेनी हजारौ भक्तजन भारतबाट स्वर्गद्वारी प्रभु महाराजको दर्शनगर्न नेपाल आउने गर्छन्। 

२०८० चैत्र ७ गते बीच भूमिसुधार तथा व्यवस्था मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित भूमि किसान संघर्ष समिति बीच सहमति भएको थियो।  जस अनुसार मोही किसानको माग लाई सम्बोधन गर्ने गरी सरकारले एकीकृत नयाँ कानून तर्जुमा गर्ने भनिएको थियो।  तर उक्त सहमति लागू नभएको भन्दै अहिले स्वर्गद्वारी गुठीका मोही किसानहरुले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन्।

सर्वोच्च अदालतले २०६२ चैत १४ मा स्वर्गद्वारी विशेष प्रकारको निजी गुठी भएकाले आश्रमको जग्गा खण्डीकरण नगर्नु नगराउनु भन्ने परमादेश जारी गरेको थियो। दाङमा स्वर्गद्वारी आश्रमको स्वामित्वमा रहेको एक हजार पचास बिघा जग्गामध्ये ७ सय ५३ बिघामा मोही लागेको छ। ३ हजार ५ घरधुरीका १६ हजार किसान यसमा आश्रित छन्।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्