नरैनापुर, डुडुवा र नेपालगञ्जमा हात्तीपाइलेको उच्च जोखिम, १४औं पटक औषधि खुवाइने

मंगलबार, माघ २९, २०८१

नेपालगञ्ज । बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा छ । १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि बाँकेका तीन पालिका र एउटा पालिकाको एक वडामा हात्तीपाइले रोगका संक्रमित भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.२ प्रतिशतसम्म मानिसहरु संक्रमित भेटिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले बताए । 

सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भए पनि बाँकेका कारण समस्या सिर्जना भएको महतोले बताए । सन् २००३ देखि सुरु भएको आम औषधि सेवन अभियानबाट सन् २०२० मै लक्ष्य हासिल गर्ने उद्देश्य राखिए पनि सम्भव नभएपछि लक्ष्य लम्बिएको हो । नेपालमा अब बाँके जिल्लामा मात्र औषधि खुवाउनुपर्ने अवस्था भएका कारण १४औं पटक आम औषधि सेवन कार्यक्रम सुरु गर्न लागिएको उनको भनाई छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिकाले आज नेपालगञ्जमा आयोजना गरेको 'हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानको अभिमुखीकरण, योजना तथा तर्जुमा गोष्ठी कार्यक्रम' मा आफ्नो प्रस्तुतिकरण राख्दै महतोले आम नागरिकले औषधि सेवन नगरिदिएका कारण बाँकेका तीन पालिका उच्च जोखिममा रहेको बताए । 

बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि नै खाएका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुगेकै छैन। औषधि सेवन दर ८० प्रतिशत नपुग्दासम्म त्यसको प्रभाव नरहने चिकित्सकहरु बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न गोष्ठीमा भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख बरिष्ठ फिजिसियन डा। राजन पाण्डेले हात्तीपाइले विरुद्ध प्रयोग भएका औषधि लामो समयदेखि प्रयोग हुँदै आएका औषधि भएकाले निर्धक्कका साथ सेवन गरी नेपाललाई हात्तीपाइले रोग मुक्त देश बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए । उनले औषधि विरुद्ध अफबाह फैलाउने विरुद्ध कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए । 

सर्वेक्षण अनुसार नेपालगञ्जमा ३३.२८ प्रतिशत मानिसले औषधिको साइड इफेक्ट हुने डरका कारण तथा ३२.५३ प्रतिशत मानिसले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन् । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतिका रुपमा देखिएकाले यो पटक गम्भीरतापूर्वक लागिदिन सबै सरोकारवालालाई आग्रह गरे । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य शाखा प्रमुख गोकर्ण दाहालले १३ पटकसम्म औषधि खुवाउँदा पनि बाँकेमा मात्र जोखिम देखिनुको मुख्य कारण औषधि सेवन नगर्नु नै रहेको बताए । उनले अब बाँकेमा एक महिनासम्म अभियान चलाएर सबै सरोकारवालाहरु गम्भीरताका साथ नलागे लक्ष्य हासिल गर्न कठिनाई हुने बताए । 

गोष्ठीमा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले सबैलाई अनिवार्यरुपमा औषधि सेवन गराउन सबै पक्षको हातेमालो आवश्यक रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्टले १४औं पटकको औषधि सेवनलाई अब अन्तिम बनाउने गरी सबै लाग्न जरुरी रहेको बताए । गोष्ठीमा जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राई, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. निराजन सुवेदी, बाँके प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, वडा अध्यक्षहरु, स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मी लगायत सरोकारवालाको उपस्थिति थियो । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको सहजीकरण अधिकृत दुर्गादेवी उपाध्यायले गरेकी थिइन् । शाहीले एउटा व्यक्तिले औषधी खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको बताए । जनप्रतिनिधि, कर्मचारी, बुद्धिजिवी बर्ग, नेता गण, व्यापारी, पढेलेखेका, समाजका अगुवाहरुले नै औषधि नखाएको पाइएकाले उनीहरुलाई अग्रभागमा राखेर यो पटकको अभियान चलाइनुपर्नेमा सरोकारवालाको जोड छ । 

नेपालगञ्ज उपमहानगरपालिकामा फागुन ५ गतेदेखि तथा डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आम औषधि सेवन कार्यक्रम सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय बाँकेकी अधिकृत गौतमले बताइन् । हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारिरीक रुपमा असक्त, असमर्थ तथा अपांगता बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भएपछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ ।

एक पटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा ४ देखि ६ बर्षसम्म रोग अरुलाई सर्दछ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्