नेपालगञ्जमा पहिलोपटक 'स्ट्रोक मास्टरक्लास' कार्यशाला

शनिबार, माघ २६, २०८१

नेपालगञ्ज । मस्तिष्कघात (स्ट्रोक) सम्बन्धि चिकित्सा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा 'स्ट्रोक मास्टरक्लास' कार्यशाला गरिएको छ । नेपाल स्ट्रोक एसोसियन र नेपाल स्ट्रोक प्रोजेक्टको आयोजना, नेपालगञ्ज न्यूरो एण्ड जनरल हस्पिटलको सहकार्यमा एक दिने कार्यशाला नेपालगञ्ज न्यूरो एण्ड जनरल हस्पिटलमा भएको हो । 

पश्चिम नेपालमै नेपालगञ्ज न्यूरो एण्ड जनरल हस्पिटल पहिलो न्यूरो डेडिकेटेड अस्पताल हो । र, यस्तो कार्यक्रम पनि नेपालगञ्जमा पहिलो पटक भएको हो ।

कार्यक्रममा न्यूरोसँग सम्बन्धित चिकित्सक, फिजिसियन, फिजियोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । सहभागीहरूले नयाँ अनुसन्धान, प्रभावकारी उपचार पद्धति र न्यूरोलोजी क्षेत्रमा भएका नवीनतम् उपलब्धिहरूका बारेमा विज्ञ चिकित्सकहरुबाट विस्तृत जानकारी पाएका थिए । कार्यक्रममा न्यूरोलोजी तथा मस्तिष्क स्वास्थ्यमा काम गर्ने ७ जना प्रतिष्ठित चिकित्सक तथा अनुसन्धानकर्ताहरू, कन्सल्टेन्ट न्यूरो फिजिसियन डा. अभिषेक मान श्रेष्ठ, रेडियोलोजिस्ट डा. प्रदेश घिमिरे, नेपाल स्ट्रोक एसोसियसनका प्रेसिडेन्ट कन्सलटेन्ट न्यूरोलोजिस्ट डा. राजु पौडेल, रेस्क्यु कि ग्लोबल म्यानेजर रुपल सेदानी, कन्सल्टेन्ट न्यूरो सर्जन डा.जोशन न्यौपाने, न्यूरोफिजियोथेरापिस्ट बिश्वास श्रेष्ठ र सिनियर कन्सल्टेन्ट न्यूरोलोजिस्ट डा. लेखजंग थापाले स्ट्रोक सम्बन्धि सचेतना, स्ट्रोकको रोकथाम, प्रारम्भिक पहिचान, आधुनिक उपचार प्रविधिहरू र दीर्घकालीन पुनर्वासको विषयमा आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।

मस्तिष्कघात भएका विरामीहरुको उपचारमा चिकित्सकहरुको समन्वय अत्यन्त आवश्यक पर्ने र गोल्डेन समय भित्रमा उसको उपचार एवं ब्यवस्थापन हुन सकेको खण्डमा विरामीहरुलाई धेरै क्षति हुनबाट जोगाउन सकिने कन्सल्टेन्ट न्युरो सर्जन डा. न्यौपाने बताउँछन् । कार्यक्रममा गहन छलफल, विशेषज्ञ विचारहरू तथा अन्तरक्रियात्मक सत्रहरू रहेको थियो । जसले सहभागीहरूलाई स्ट्रोक व्यवस्थापनका महत्वपूर्ण पक्षहरू बुझ्न सहयोग गरेको थियो । वक्ताहरूले प्रारम्भिक पहिचानदेखि नवीनतम चिकित्सा प्रविधिहरूसम्मका विषयहरू कभर गर्दै समयमा नै उपचार तथा उचित हेरचाहको महत्त्वलाई उजागर गरेका थिए । खासगरी मस्तिष्कघातको जोखिम, उपचारका निमित्त भइरहेका अभ्यास, नवीनतम उपकरणको प्रयोग लगायतका बारेमा सिकाई आदानप्रदान गर्न सन् २०१८ देखि देशका विभिन्न सहरमा ‘स्ट्रोक मास्टरक्लास’ सञ्चालन हुँदै आएको छ । नेपालगञ्जमा आयोजना गरिएको यो छैठौं संस्करण हो ।

स्ट्रोक मस्तिष्कमा रक्तसञ्चार अवरुद्ध हुँदा हुने गम्भीर चिकित्सा अवस्था हो । जसले शरीरको कुनै एक भागलाई अचल बनाउने, बोली क्षमतामा असर गर्ने, स्मृति भ्रम गराउने जस्ता समस्या निम्त्याउन सक्छ । विश्वको परिप्रेक्षमा हेर्दा हरेक वर्ष एक करोड तीस लाख मानिसलाई मस्तिष्कघात हुन्छ र यसले गर्दा वर्षेनी ५५ लाख मानिसहरुलाई मृत्युको मुखमा पुर्याइरहेको छ । हरेक ६ सेकेन्डमा एक जनालाई मस्तिष्कघातले असर गर्दछ र हरेक ४ जनामा एक जनालाई मस्तिष्कघातको लक्षण देखिन्छ । संसारमा मस्तिष्कघात (स्ट्रोक) मुटुको रोगपछि दोस्रो ठूलो मृत्युको कारण हो । यो आँकडा हेर्दा मस्तिष्कघातको असर भयावह रुपमा देखिन्छ । खासगरी अल्पविकसित र विकासोन्मुख देशमा सम्पूर्ण मस्तिष्कघात मध्ये ७०–८० प्रतिशत मस्तिष्कघातका बिरामीहरु भेटिन्छन् ।

कार्यपत्र प्रस्तुत गर्ने विज्ञ चिकित्सकहरुलाई भेरी अस्पताल नेपालगञ्जका मेडिसिन बिभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। राजन पाण्डेले प्रमाणपत्र प्रदान गरेका थिए । त्यसक्रममा डा। पाण्डेले कार्यक्रम अत्यन्त फलदायी भएको बताए । उनले भेरी अस्पतालमा पनि स्ट्रोक उपचार युनिट संचालन गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए  । त्यस्तै नेशनल न्युरो सेन्टरकी सीइओ तथा नेपाल स्ट्रोक एसोसियसन प्रतिनिधि नुमा शर्माले एसोसियसनको बारेमा जानकारी गराएकी थिइन् भने कार्यक्रमको सञ्चालन समिरमान श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्