बाँकेको नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

विद्यालयस्तरमा खेल पूर्वाधारको विकासका लागि बिशेष बजेटको व्यवस्था गर्ने अध्यक्ष शाहको प्रतिबद्धता
शुक्रबार, माघ २५, २०८१

नरैनापुर,बाँके   बाँकेको नरैनापुर गाउँपालिकामा छैठौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नरैनापुर गाउँपालिकामा रहेको रंगशाला मैदानमा बिहिबारबाट सुरु भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले एक कार्यक्रमकाबिच उद्घाटन गरेका छन्   ।

उद्घाटन गर्दै अध्यक्ष शाहले दुर्गम स्थानमा भएपनि पालिकाले शैक्षिक गुणस्तरीय वृद्धि र खेलकुद प्रवद्र्धनका निम्ति निरन्तर लागि परेको बताए । उनले नरैनापुरको समृद्धिको विभिन्न आयाम मध्ये खेलकुद एक रहेको उल्लेख गर्दै विद्यालय विभिन्न क्लबका माध्यमबाट युवाहरूलाई खेलप्रति आकर्षित गर्ने कार्य गरेको जिकिर गरे ।

अध्यक्ष शाहले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयस्तरमा खेल पूर्वाधारको विकासका लागि आफूले बिशेष बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।  

उनले विद्यार्थीलाई अनुशासित बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरूले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन अध्यक्ष शाहले अपिल गरेका छन् । ग्रामीण क्षेत्रमा खेल सञ्चालन गर्दा स्थानीय स्तरमा नयाँ खेल प्रतिभा पहिचानका लागि रनिङ शिल्ड एक माध्यम बनेको गाउँपालिका अध्यक्ष शाहको भनाई थियो । अध्यक्ष शाहले विद्यार्थीलाई अनुशासित मर्यादित र मेहनतका साथ खेल प्रदर्शन गर्न आग्रह गरेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत पहिलो दिन १५ सय मिटर दौड, सटपुट लगायतका खेल सम्पन्न भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण चौधरीले जानकारी दिए।

प्रतियोगिता अवधिभर छात्र–छात्रा भलिबल, एथलेटिक्सतर्फ एक सय, दुई सय, चार सय, आठ सय र तीन हजार मिटर दौड प्रतियोगिता हुने उहाँले जानकारी दिए ।

त्यस्तै हाइजम्प, सटपुट लगायतका खेलहरू गरी कुल १३ खेल समावेश गरिएको उनले बताए । प्रतियोगितामा गाउँपालिका भरिका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष शाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, शिक्षा शाखा प्रमुख चौधरी, विपद शाखा प्रमुख भरत महतो, पालिका खेलकुद बिकास समिति संयोजक इन्द्र बहादुर यादव, शिक्षा शाखाका प्राबिधिक कमल केसी लगायतको उपस्थितीमा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।  कार्यक्रम शनिबार समापन हुने प्राबिधिक कमल केसीले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्