नेपालगन्जमा विद्यार्थीलाई साइबर अपराधसँगै सडक सुरक्षाको प्रशिक्षण

मंगलबार, माघ २२, २०८१

नेपालगन्ज । नेपालगन्जका विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय  बाँकेले साईबर अपराध र बाल यौन दुर्व्यवहार सम्बन्धि प्रशिक्षण दिएको छ।

बाँके प्रहरीको आयोजनामा नेपालगन्ज-१ स्थित धम्बोझी माविमा कक्षा ९ र १० का विद्यार्थीलाई प्रहरी निरीक्षक आकाश भुषालले साईबर अपराध तथा यौन दुर्व्यवहारबारे प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षणमा साईबर अपराधका बारेमा र त्यसको असर लगायत कानुनी कारबाहीका बारेमा विद्यार्थीलाई जानकारी गराइएको प्रहरी निरीक्षक भुषालले जानकारी दिए।

प्रशिक्षणका क्रममा साइईबर सुरक्षा र नेपालको कानुन, साईबर अपराध र अपनाउनु पर्ने सुरक्षा सचेतनताका विषयमा जानकारी गराइएको प्रहरी निरीक्षक भुषालले बताए। त्यस क्रममा विद्यार्थीहरुलाई साईबर अपराध र यौन दुर्व्यवहार सम्बन्धि श्रब्य दृष्य समेत देखाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले  जानकारी दिएको  छ ।

प्रहरी निरीक्षक भुषालले त्यस क्रममा महिला हिंसा र कानूनी प्रावधानका विषयमा व्यवहारिक र सैद्धान्तिक विषयमा समेत प्रशिक्षण दिएका थिए ।

त्यसैगरी उक्त प्रशिक्षण पश्चात् ट्राफिक प्रहरीले पनि विद्यार्थीलाई सडक सुरक्षा, लेन अनुशासन र ट्राफिक नियम बारेमा प्रशिक्षण दिएको हो। 

 नेपालगन्ज ट्राफिक प्रहरी पोस्टका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक प्रवीण आचार्यले ट्राफिक व्यवस्थापन,ट्राफिक चिन्ह र ट्राफिक  व्यवस्थापनमा विद्यार्थीको भुमिकाको बारेमा पनि प्रशिक्षण दिएका थिए।

प्रशिक्षणका क्रममा वरिष्ठ नायब निरीक्षक आचार्यले विद्यार्थीहरुलाई बिना लाईन्स र हेल्मेट बिना सवारी साधन नचलाउन पनि आग्रह गरेका हुन् ।  बिधार्थीहरुलाई सवारी साधनमा यात्रा गर्दा गाडी नम्बर,गाडी भाडादर टासेको छ वा छैन त्यो पनि हेर्न आचार्यले हेर्न अनुरोध गरे। 

ट्राफिक नियम अनुसार सुरक्षित साथ सडकमा हिँड्न तथा बाटो काट्न विद्यार्थीलाई ट्राफिक नियमको जानकारी गराउदै ट्राफिक नियम पालना नगर्दा हुन सक्ने दुर्घटनाको बारेमा समेत जानकारी दिइएको थियो । जथाभावी सडकमा हिँड्दा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर ट्राफिक नियमको बारेमा जानकारी दिइएको वरिष्ठ नायब निरीक्षक आचार्यले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्