बाँकेको कोहलपुरबाट ब्राउन सुगरसहित ५ युवायुवती पक्राउ

सोमबार, माघ २१, २०८१

बाँके । बाँकेको कोहलपुर नगरपालिकाका दुई स्थानबाट  प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-२ बाट ३ सय ८० मिलिग्राम ब्राउनसुगर सहित कोहलपुर र बर्दियाका दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

बाँके प्रहरीका अनुसार पक्राउ  पर्नेहरूमा कोहलपुर नगरपालिका-२ बर्दहवाका २२ वर्षीय राकेश चौधरी र बर्दियाको मधुबन नगरपालिका-४ का २३ वर्षीया जीया चौधरी रहेका छन् । उनीहरुलाई आइतबार राति पक्राउ गरिएको थियो।

त्यसैगरी  बाँकेकै कोहलपुर नगरपालिका-२ मनकामना चोकबाट पनि १ ग्राम २१० मिलिग्राम ब्राउनसुगर र नगद १८ हजार ३ सय २५ रूपैयाँ सहित पाँच जनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ इलाका प्रहरी कार्यालयबाट  र कौशिलानगरबाट खटिएको टोलीले कोहलपुर-१ सालको बुटाका १९ वर्षीया संगिता चौधरी, कोहलपुर-२ का२४ वर्षीय श्रीकृष्ण थारू र कोहलपुर-११ लोकनगर बस्ने २८ वर्षीय किरन थारुलाई उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रहरीको टोलीले संगीताको घरमा छापा मारेर ब्राउन सुगर फेला पारेको थियो भने त्यहा रहेका तीनै जनालाई उक्त पदार्थसँग पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

दुबै स्थानबाट ब्राउन सुगर पक्राउ परेका पाँच जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्