समाजवादी मोर्चाको बैठकमा नेतृत्व पालैपालो गर्ने निर्णय

शनिबार, असार २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । चार दलिय समाजवादी मोर्चाको बैठकले मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । 

नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेको समाजवादी मोर्चाको बैठकले  गठन गर्व्को चार सदस्यीय कार्यदल नेकपा माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहेका छन् ।

समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने आजको पहिलो बैठकबाट समझदारी गरेका छन् ।

नेकपा समाजवादी पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६/६ महिनामा पालैसँग गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

‘सामान्यतया यो मोर्चाको ६/६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल) ले ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ । यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ, लगभग समझदारी त्यही छ । समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ’ बैठकपछि पत्रकारहरुसँग उनले भने ।

यसअघि मोर्चामा नेतृत्व आलोपालो गर्ने समझदारी भए पनि कति कति समयमा नेतृत्व गर्ने भन्ने तय भएको थिएन ।

शनिबारको बैठक माधव नेपालको अध्यक्षतामा बसेको थियो । बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । तर त्यसको मिति भने २७ गते बस्ने बैठकले तय गर्ने नेता पाण्डेले बताए।

५४ जना सांसद रहेको समाजवादी मोर्चा ४ असारमा गठन भएको थियो ।

 

 

 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्