महाकुम्भबाट फर्किदै गरेको नेपाली सवार स्कार्पियो मुजफ्फरपुरमा दुर्घटना: ५ जनाको मृत्यु

शनिबार, माघ १९, २०८१

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित पर्यागराज महाकुम्भ मेलाबाट फर्किदै गरेको नेपाली सवार स्कार्पियो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। 

महाकुम्भ मेलाबाट फर्किरहेको उक्त जीप आज बिहारको मुजफ्फरपुर जिल्लामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना गम्भीर  घाइते भएको भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको छ।

भारतीय प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा जीपमा सवार ३ महिला र २ पुरुष  रहेका छन् । उनीहरूमध्ये अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा महोत्तरीका हुन् भने गाडीचालक शम्भु ठाकुर सिरहाका हुन् ।

दुर्घटनामा गम्भीर घाइतेहरूमा मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । घाइतेहरूलाई भारतको स्थानीय अस्पतालमा भर्ना गरेर उपचार भइरहेको बताइएको छ।

भारतीय प्रहरीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियो फोरलेन सडकमा बाइक स्टन्ट गरिरहेका युवकहरूलाई बचाउने क्रममा दुर्घटना भएको हो। 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्