राप्तीसोनारी गाउँपालिकामा शुरु भयो घर आवास कार्यक्रम

शनिबार, माघ १९, २०८१

बाँके  बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाले विपन्न लक्षित घर आवास कार्यक्रम सुरु गरेको छ ।गाउँपालिकाले अति विपन्न तथा असहायको घर निर्माण कार्यक्रमलाई अगाडि सारेको हो ।

गाउँपालिकाले विपन्न लक्षित थालेको घर आवास कार्यक्रमलाई शुक्रबारदेखि सुरु गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं .४ का वडाध्यक्ष मीनराज खड्का (सन्तोष) ले जानकारी दिएका छन् ।

गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले वडा नम्बर ३ र ४ मा एक कार्यक्रकाबीच निर्माण कार्यको शिलान्यास गरेका हुन् । वडा नम्बर ३ को महुवा र ४ को बैजापुर क्षेत्रमा घर निर्माणको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारुले संयुक्तरुपमा शिलान्यास गरेको प्रवक्ता खड्काले बताए।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले पालिकाले गरिव तथा विपन्न लक्षित यो कामलाई प्राथमकिताका साथ अगाडि बढाएको बताए। पौडेलले यहाँका असहाय तथा एकदमै जर्जर अवस्थामा रहेका परिवार लक्षित यो कार्यक्रमले वास्तविक आवश्यकता भएकालाई ठुलो राहत पुग्ने धारणा व्यक्त गरेका थिए ।

‘विपन्न आवास कार्यक्रमले लक्षित परिवारमा ठुलो सहयोग पुग्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘जो आर्थिकरुपले सक्षम छैन, परिवारमा कोही सहारा छैन, त्यस्ता परिवारका लागि यो कार्यक्रम लक्षित गरिएको हो ।’ वास्तविक रुपमा यस खालको सहयोग चाहिएको परिवारलाई नै यसमा सहभागि गराइएने पनि अध्यक्ष पौडेलले उद्घोष गरेका छन् ।

गाउँपालिकाले घर आवास कार्यक्रम अन्तर्गत पालिकाभरी ३१ वटा घर निर्मण गर्न लागेको छ । वडा नम्बर ३, ४, ५, ६ र ७ मा गरी निर्माण हुने ३१ घरमा २-२ वटा कोठा र एक÷एक वटा शौचालय निर्माण गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।

गाउँपालिकाको १ करोड ३ लाख लागत रहेको निर्माण कार्यलाई स्वागत कन्ट्रक्सन प्रालि ठाकुरबाबाले २०८२ को जेष्ठ मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्