सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनलाइन ठगी र क्रिप्टो करेन्सीको कारोबार गर्ने समूहका ७ जनालाई पक्राउ गरेको छ। उनीहरुसँगै अनलाइन ठगी र क्रिप्टो कारोबारका एक जना मास्टर एजेन्टलाई पनि प्रहरीले पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ।
सीआईबीका अनुसार पक्राउ पर्ने मास्टर एजेन्टमा कैलालीस्थित बर्दगोरिया गाउँपालिका-६ घर भएर हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्दै आएका २२ वर्षीय माइकल डंगौरा हुन् ।
अनलाइन ठगीको आरोपमा पक्राउ पर्नेहरुमा कैलालीको बर्दगोरियाकै २६ वर्षीय अनिल विश्वकर्मा, बूढानीलकण्ठ का २१ वर्षीय पियुष श्रेष्ठ, काठमाडौंको कागेश्वरी मनोहराका १९ वर्षीय आश्विन चौलागाईं, बानेश्वरका २२ वर्षीय सत्यमकुमार सहनी, भारत घर भएर हाल काठमाडौं बस्दै आएका २७ वर्षीय रोशन कुमार र भारतकै ३६ वर्षीय मुन्ना कुमार रहेको सीआईबीले जनाएको छ।
सीआईबीले दिएको जानकारी अनुसार उनीहरूले नेपालमा बसेर संगठित रूपमै अनलाइन ठगी धन्दा र क्रिप्टो कारोबार सञ्चालन गर्दै आएका थिए। सीआईबीले पक्राउ परेका उनीहरुको साथबाट दुई वटा सुपर कम्प्युटर, १३ वटा मोबाइल फोन, १९ वटा चेक र साढे ५ लाख नगद बरामद गरेको जानकारी दिएको छ।
अनलाइन ठगी धन्दामा उनीहरूले बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भनेर ओटिपी र पिन मागेर अनधिकृत रूपमा पहुँच पुर्याएर ठगी गर्दै आएको सीआईबीले जनाएको छ।
उनीहरुले ह्वाट्स एप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब, घरैमा बसेर धेरै रकम कमाउन सकिने, अनलाइन जुवा आदिको आकर्षक विज्ञापन राखेर लिंक पठाउने गरेका थिए। त्यसरी साइबर फिसिङ गरी बैंक तथा वालेटमा समेत पहुँच पुर्याएर रकम अन्यत्र खातामा पठाउने गरेको सीआईबीका प्रवक्ता एसपी सुधीर राज शाहीले बताए।
एसपी शाहीका अनुसार उनीहरुले त्यसरी निकालिएको रकमलाई थोरै समयमा नै विभिन्न बैंक तथा डिजिटल वालेटमा ट्रान्सफर गर्ने गरेका थिए भने कतिपयलाई त कामकै प्रलोभनमा पारेर उनीहरूको नागरिकता, फोन नम्बर लगायतको प्रयोग गरी डिजिटल वालेट खोलेको समेत भेटिएको छ। त्यसरी खाता बनाएर रकम दिइएको पनि अनुसन्धानमा देखिएको एसपी शाहीले जानकारी दिए।
विभिन्न प्रकारबाट ठगी गरी प्राप्त भएको रकमलाई उनीहरुले क्रिप्टोकरेन्सी खरिद गर्ने र हुण्डी कारोबार गर्ने गरेको एसपी शाहीले जानकारी दिएका छन् ।
विदेशबाट आफन्तलाई बैंकिङ माध्यमबाट रकम पठाउँदा कर लाग्ने हुँदा कर शुल्क तिर्नु नपर्ने प्रलोभनमा आपराधिक समूहबाटै रकम पठाउने गरेको पनि भेटिएको एसपी शाही बताउँछन्। सिआइबीले गरेको डिजिटल फरेन्सिक रिपोर्टमा मात्रै यो समूहले यसरी ३ अर्बभन्दा बढी ठगी गरेको देखिएको पाइएको छ।
पक्राउ परेका उनीहरुविरुद्द सीआईबीले थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ भने सम्बन्धित सबैलाई यस्ता मेसेज अथवा फोन आए तुरुन्तै प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ।