जनस्तरबाटै नेपालगन्जमा बन्यो सुविधा सम्पन्न 'किरियापुत्री' भवन

बिहीबार, माघ १७, २०८१

नेपालगन्ज । नेपालगन्जमा जनस्तरबाट जिल्लामै पहिलो सुविधा सम्पन्न किरियापुत्री भवन निर्माण भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित शिवपार्वती टोलमा १ करोड १६ लाख लागतमा किरियापुत्री भवन निर्माण सम्पन्न भएको हो । 

भवनको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आज उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै नगर प्रमुख विष्टले नेपालगन्जका लागि अति आवश्यक देखिएको किरियापुत्री भवन निर्माण अत्यन्तै सराहनीय कार्य भएको बताए । उनले पुण्य कर्ममा सबैको हातेमालो र सहकार्यले राम्रो सन्देश प्रवाह भएको बताए । अब यसको प्रयोग, उपयोग र संरक्षणका लागि कार्यविधि बनाएर काम गर्न उनको आग्रह छ । 

साढे दुई तले सुविधा सम्पन्न भवन १० महिनामै निर्माण गरिएको हो । यसमा एक पटकमा दुई परिवारले काज(किरिया गर्न मिल्ने गरी चार वटा कोठा, स्टोर, शौचालय, स्नान घरको व्यवस्था छ । किरियापुत्री भवनलाई बातानुकुलित समेत बनाउने तयारी छ । किरियापुत्री भवन निर्माणका लागि २१५ जना समाजसेवीले दान तथा सहयोग गरेको नेपालगन्ज किरियापुत्री भवन निर्माण समिति संयोजक समाजसेवी सेमराज शाक्यले बताए । न्यूनतम् शुल्क लिएर किरियापुत्री भवन संचालन गरिने शाक्यले जानकारी दिए । जग्गादाता माधवराम बर्माले दान गरेको करीब ३ कट्ठा जमिनमा किरियापुत्री भवन निर्माण भएको हो । शिव पार्वती मन्दिरको जग्गामै भवन बनेको छ । 

किरियापुत्री भवन निर्माण भएपछि बाहिरबाट उपचारका लागि आई आफन्त गुमाएका, डेरामा बसेका, घर भएर पनि आवश्यक ठाउँ अभाव झेलिरहेका परिवारका लागि काज( किरिया गर्न सहज हुनेछ । शाक्यका अनुसार उक्त भवनमा पुरुष र महिला क्रियापुत्री अलग अलग बस्ने कुरुवा कोठा र प्रशासनिक प्रयोगका लागि व्यबस्था मिलाइएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नेपालगन्ज-६  फुल्टेक्राकी माधवी शाहले पहिलो संकल्पकर्ताका रुपमा १० लाख रुपैयाँ सहयोग गरेपछि भवन निर्माण कार्य अगाडि बढेको समितिका सचिव बसन्त लामिछानेले बताए ।

कोभिडका बेला भोग्नुपरेको दुस्ख र अप्ठ्यारोलाई महसुस गरेपछि नेपालगन्जमा किरियापुत्री भवन निर्माण प्रक्रिया अघि बढाइएको निर्माण समितिका सहसंयोजक रबिन्द्र कर्णले बताए । उनका अनुसार २०७५ मा यसको परिकल्पना सुरु भएको थियो । भवन निर्माणमा नेपालगन्ज उपमहानगरपालिकाले ११ लाख र वडा नम्बर ४ ले ५ लाख सहयोग गर्ने घोषणा गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाबाट अहिलेसम्म ५ लाख रुपैयाँ प्राप्त भएको कोषाध्यक्ष अनिता शाहले जानकारी दिइन् । 

उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, दाता प्राध्यापक शाह, जग्गादाता बर्मा, समाजसेवी जे।के। सिंह, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले बोलेका थिए । त्यस अवसरमा दाता र सहयोगीहरुलाई कदरपत्र प्रदान गरिएको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्