त्रिकोणात्मक महिला टी-२० मा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित

बिहीबार, माघ १७, २०८१

काठमाडौँ । नेपाल त्रिकोणात्मक टी–२० महिला क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्ससँग   २० रनले पराजय  बेहोरेको छ। काठमाडौँमा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग
जितका लागि १५८ रनको चुनौती पछ्याउने क्रममा ७ विकेटको क्षतिमा १३७ रन बनायो ।

सीता राना मगरले ४५ बलमा २८, कविता जोशीले १७ बलमा २७ तथा पूजा महतोले १४ बलमा २४ रन बनाए बाहेक अन्य ब्याटरले उल्लेखनीय खेल्न सकेनन् । 

नेदरल्याण्ड्सकी क्यारोलिन डे लाङ्गे र इभा लिन्चले समान २–२ विकेट लिए । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १५७ रन बनायो ।  रोविने रिज्केले ४८ बलमा अविजित रहँदै ५९ तथा आइरिस विलिङले १३ बलमा अविजित रहँदै ३१ रन जोडिन् । 

यहाँनेर नेपाली टोलीकी कप्तान इन्दू वर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय विफल भएको थियो । नेपालका लागि यू–१९ टिमकी कप्तान पूजा महतो, कविता कुँवर, ईश्वरी बिष्ट र सीता राना मगरले एक एक विकेट लिए । 

घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्सको सामना गरेको हो । महिला टी–२० वरीयतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २० औँ स्थानमा छ । 

यो त्रिकोणात्मक श्रृंखलामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता रहेको छ । सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन्। त्यसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । 

नेपाली महिला टोलीमा कप्तान वर्मासहित विन्दू रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, अलिसाकुमारी यादव, रेवती धामी, ईश्वरी बिष्ट, सीता राना मगर, कविता जोशी, रोमा थापा र मनिषा उपाध्याय छन् । 

शुक्रबार नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्नेछन् । शनिबार नेपाल र थाइल्याण्ड खेल्दा आइतबार नेपाल र नेदरल्याण्ड्स खेल्नेछन् ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्