कांग्रेसका ७७ वटै जिल्ला सभापति पोखरामा भेला हुँदै

बिहीबार, माघ १७, २०८१

काठमाडौं   नेपाली कांग्रेसका ७७ जिल्लाका जिल्ला सभापतिहरुसहित कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा पोखरामा एक साथ भेला हुने भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सभापति देउवा पोखरा जाने भएका छन् ।

देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेतासमेत सहभागी हुने बताइको छ ।

कार्यक्रममा ७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापति सहभागी हुने कास्की कांग्रेस सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

कार्यक्रमको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको जिल्ला सभापति किशोरदत्त बरालको जानकारी दिए ।

कार्यक्रमले सबै जिल्ला सभापतिका अनुभव आदानप्रदान गरी संगठन सुदृढिकरण र पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने सभापति बराललेको विश्वास छ ।

‘कार्यक्रम पोखरामा हुनु हाम्रा लागि गौरवको विषय हो’, सभापति बरालले भने, ‘यो कार्यक्रमले देशको ध्यान पोखरामा तान्नेछ ।’सभापति बरालका अनुसार कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्