कर्मचारी तहमा जारी गरिएको १४ बुँदे निर्देशनपछि केही परिवर्तन देखिएको छ: मुख्यमन्त्री आचार्य

बुधबार, माघ १६, २०८१

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशबासीको शिर झुक्न नदिने गरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

अर्घाखाँची सम्पर्क मञ्च बाँकेले आज नेपालगन्जमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारका कारण कसैले पनि शिर झुकाउन नपर्ने बताएका हुन् । ‘सरकारले सुशासनको थालनी र प्रयास अघि बढाएको छ । सरकारको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं,’ उनले भने-"हाम्रा कारणले कसैले पनि शिर झुकाउनुपर्ने छैन, गर्व गर्ने काम गर्छौं ।"

भ्रष्टाचार न्यूनीकरणका लागि ५ बर्षे रणनीतिक योजना ल्याइएको भन्दै उनले कर्मचारी तहमा जारी गरिएको १४ बुँदे निर्देशनपछि केही परिवर्तन देखिन थालेको बताए । सरकारले नागरिकका हरेक गुनासो सुन्ने र त्यसलाई सम्वोधन गर्न तत्परता देखाउने विश्वास दिलाए । ‘सरकारका कमीकमजोरी देख्नुभयो भने उतिखेरै भनिहाल्नुहोला, समय पर्खिने होइन,’ उनले भने, ‘तपाईंहरुले दिएका सुझावहरुलाई आत्मसाथ गरेर अघि बढ्छौं ।’ आचार्यले सरकारले गरेका कामहरुको उपलब्धि देखिने अवस्थामा पुगेको बताए । 

सो अवसरमा मञ्चका अध्यक्ष बिष्णु खनाल, संविधानसभा सदस्य देवराज भार, लुम्बिनी प्राबिधिक विश्वविद्यालयल आयोग सदस्य कृष्णचन्द्र घिमिरे, प्रभात ठकुरी, कस्मिरा खातुन, बुद्धि बन्जाडे लगायतले मुख्यमन्त्री आचार्यलाई मायाको चिनोसहित सम्मान गरेका थिए ।

यसैबीच मुख्यमन्त्री आचार्यलाई नेपालगन्ज साइक्लिङ क्लबद्वारा आयोजना हुने 'टुर दि ठाकुरद्वारा' साइकलयात्राको बारेमा जानकारी समेत गराइएको छ । यो यात्राले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्