सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाली कांग्रेस केन्द्रको '१०० दिने विशेष अभियान' र जिल्ला कार्यसमिति बाँकेको 'चार महिने अभियान' को समापन भएको छ । पार्टी कार्यालय नेपालगञ्जमा आज एक कार्यक्रमका बीच अभियानको समापन गरिएको हो ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्व एवम् कांग्रेस केन्द्रीय सदस्य तथा केन्द्रीय अभियानका प्रतिनिधि कृष्ण किशोर शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको थियो । घिमिरेले नेपाली काँग्रेसका नेता कार्यकर्ता अनशासित एवम् मर्यादित हुनुपर्ने बताए । उनले पार्टी संगठनलाई बलियो बनाउने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले आपसी तिक्तता त्यागेर एकता भावका साथ अघि बढ्न आह्वान समेत गरे । पार्टी सभापति गौडेलले 'जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणका लागि कांग्रेसको अभियान' भन्ने मूल नाराका साथ कांग्रेस बाँकेले वडा केन्द्रित चार महिने कार्यक्रम सञ्चालन गरेको जानकारी गराए । उनले कांग्रेसलाई तल्लो तहसम्म जागृत गर्न र सबै बर्गसंग साक्षात्कार गराउन अभियान सफल भएको बताए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले गुटरहित एकताबद्ध कांग्रेस आजको आवश्यकता रहेकोमा जोड दिएका छन् । कांग्रेसजन बीचकै मन भेद पार्टी भित्रको सबैभन्दा ठूलो समस्या रहेको नेता कार्यकर्ताले बताएका थिए । अरु दलसंग नभई कांग्रेस-कांग्रेसकै गठबन्धनमा सबैको जोड छ । बक्ताहरुले पार्टीलाई अझ गतिशील र चलायमान बनाउन अभियानहरु सार्थक हुने बताएका थिए ।
समापन कार्यक्रममा नेपाली कांग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठ, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर मल्ल, महासमिति सदस्यहरु मेघराज वली, राजकुमार बर्मा, महावीर वली, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ता, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको समापन कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए