सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कोहलपुर । कोहलपुर आठौं मेयर कप तथा सत्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगिता भोलि बुधबारदेखि सुरु हुने भएको छ ।
कोहलपुर नगरपालिका खेलकुद विकास समितिको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरस्थित कृष्ण माविमा खेलकुद छनौट प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको कृष्ण माविका प्रअ दिलिप वलीले बताए ।
आज पत्रकार सम्मेलनमार्फत तयारी पूरा भएको जानकारी वलीले दिए । उक्त प्रतियोगितामा चार वटा विधामा प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स, भलिवल, कवड्डी र मार्सल आर्ट्स विधामा ५३ विद्यालयले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा २ हजार १ सय ६७ विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमुहहरु बनाएर परिचालन गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र क्षेत्रीले बताए । उनका अनुसार गत वर्ष भन्दा यो पटक पुरस्कार राशी समेत वृद्धि गरिएको छ ।
मावितर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितिय हुनेलाई ६५ हजार र तृतिय हुनेलाई ५५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी आधारभूततर्फ प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई २० हजार र तृतिय हुनेलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीले भने ५१ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले उद्घाटन गर्नेछन् ।