सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
राप्तीसोनारी,बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ की उमाकुमारी थारुले तीन महिने गरगहना बनाउने तालिम लिएपछि उनको जीवन नै परिवर्तन भएको छ ।
काठमाण्डौस्थित सानो पाइला नामक संस्थाले देशभरीबाट करीब एक दर्जन महिलालाई उक्त तालिम दिएर दक्ष बनाएको छ । उमालाई बाँकेबाट प्रतिनिधित्व गरी तालिम लिने अवसर राप्तीसोनारी गाउँपालिकाले जटायो । उनले तालिम लिएर अहिले पित्तलबाट निमार्ण हुने विभिन्न किसिमका गरगहना बनाउन थालेकी छिन् ।
घरको काममा मात्र सीमित रहेकी उमा तालिम सिकेपछि जीवनशैली नै परिवर्तन भएको बताउँछिन् । उनले भनिन्,–‘पहिला म अरुको अगाडि आफ्नो नाम समेत भन्न सक्दैनथें, अहिले मजाले कुरा गर्ने भएछु, मेरो जीवनमा ठूलो परिवर्तन भएको छ, गाउँघर छोडेर तीन महिना ठूलो शहर काठमाण्डौमा बसेर तालिम लिएपछि मैलो ठूलो संसार देखें,’ उनले भनिन्-'अब म सिप सिकेर व्यवसाय गर्न सक्ने भएछु, अलिकति आर्थिक सहयोग भएमा यसलाई आफ्नो व्यवसाय बनाउँनेछु ।'
तालिम दिने संस्थाले उनले उत्पादन गरेको सामग्री खरिद गर्ने र प्रशिक्षकको रुपमा प्रयोग गर्ने उनले बताइन् । अहिले शुरुमा करीब डेढ लाखको लगानीबाट व्यवसाय शुरु गर्ने योजना बनाएको उनी बताउँछिन् । उक्त तालिममा सहभागी पठाउन पालिकालाई अनुरोध गरेपछि उमालाई छनौट गरी तालिममा सहभागिताका लागि पठाइएको गाउँपालिकाले जनाएको छ । राप्तीसोनारी गाउँपालिकाले महिला स्वरोजगारको कार्यक्रमलाई प्रभावकारी बनाएको छ । महिलाहरुलाई व्यवसायिकरुपमा आत्मनिर्भर बनाउन सिप सिकाएको छ । ज्ञान, सिपको माध्यमले महिलाहरुलाई घरमै बसेर सफल व्यवसाय संचालन गर्ने उद्देश्यले सिपमूलक कार्यक्रमलाई जोड दिइएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए । उनका अनुसार महिलाहरुलाई सशक्तिकरण गरी सिप सिकाएर आर्थिक रुपमा सबल बनाइनेछ ।
राप्तीसोनारी गाउँपालिकाले चालू आर्थिक वर्षमा एक सय जनालाई एक महिने थाकल र मकैको खोष्टाबाट टोपी बनाउने तालिम र मखमलीको जुत्ता बनाउने एक महिने तालिम संचालन गर्न लागेको पालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दलामीले बताइन् । उनले पालिकामा रहेका विपन्न वर्ग, दलित, वादी, कुमाल, द्वन्दपीडित जस्ता महिलालाई विशेष प्राथमिकतामा राखेर स्वरोजगारतर्फ उन्मुख गराउन सिपमुलक कार्यक्रममा जोड दिइएको बताइन् ।