लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीको 'रिपोर्ट कार्ड' सार्वजनिक

बिहीबार, माघ १०, २०८१

नेपालगञ्ज । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले प्रदेशसभामा आफ्नो दोस्रो बर्षको 'रिपोर्ट कार्ड' सार्वजनिक गरेकी छिन् । कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री समेत रहेकी गिरीले पारदर्शिता र जबाफदेहिताका लागि आफ्नो 'रिपोर्ट कार्ड' सार्वजनिक गरेको बताएकी छिन् ।

आज साँझ सामाजिक सञ्जालमार्फत 'रिपोर्ट कार्ड' सार्वजनिक गर्दै उनले २०८० पुस १७ गतेदेखि २०८१ पुस २९ गतेसम्मको अवधिमा प्रदेश आयोजना बैंकको अबधारणा प्रस्तुत गरेको र हाल उक्त अबधारणा मस्यौदाको चरणमा रहेको, लुम्बिनी प्रदेशमा पहिलो संकल्प प्रस्ताब दर्ता गरेको, विद्यार्थीहरुलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन र जनस्वास्थ्यमा उचित ख्याल गर्न ध्यानाकर्षण गराएको उल्लेख गरेकी छिन् ।

गिरीले लुम्बिनी प्रदेश अन्तर्गत ९८३ वटै वडामा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत, खानेपानी, कृषि, पर्यटन लगायतका पूर्वाधारहरुको अध्ययन तथा तथ्यांकको आधारमा योजनाहरुलाई प्राथमिकतामा राखी समन्यायिक बजेट बिनियोजन गर्न प्रदेश आयोजना बैंकको अबधारणा लुम्बिनी प्रदेशसभाको बैठकमा प्रस्तुत गरेकी थिइन् । उक्त अबधारणा अहिले मस्यौदाको चरणमा छ ।

त्यस्तै उनले सडक दुर्घटना न्यूनीकरण गरी जिउधनको सुरक्षा र क्षती न्यूनीकरण गर्ने स्पष्ट खाकासहित लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ८४ अन्तर्गतको ब्यवस्था बमोजिम लुम्बिनी प्रदेशसभामा पहिलो संकल्प प्रस्ताबको रुपमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धि सार्वजनिक महत्वको संकल्प प्रस्ताब दर्ता गरेकी थिइन् ।

प्रदेशसभा सदस्य गिरीले शैक्षिक क्षमता अभिबृद्धि गर्न नमुना विद्यालयको रुपमा झिमरुक-७ तुसारा प्युठानस्थित सत्य माविका एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गर्ने संस्थाहरुसंग समन्वय गरी गणित, अंग्रेजी, विज्ञान, सामाजिक लगायत विषयहरुमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गरेकी थिइन् । उनले प्युठानका अन्य विद्यालयहरुमा पनि अनलाइन कक्षा विस्तार गर्ने क्रममा रहेको बताएकी छिन् ।

उनले मदिरा सेवनले सडक दुर्घटना, घरेलु हिंसा, फौजदारी अपराधका घटनामा बृद्धि भइरहेको भन्दै न्यूनीकरणको लागि संसदीय उपसमिति बनाई मदिरा विक्रि वितरणको ब्यवस्थापन, नियमन र नियन्त्रण गर्नुपर्ने विषयमा प्रदेशसभामा निरन्तर ध्यानाकर्षण गराएकी छिन् ।

झिमरुक गाउँपालिका वडा नम्बर ७ प्युठान निवासी गिरीले दोस्रो बर्षमा बसेका ४० बैठक मध्ये २९ बैठकमा उपस्थित रहेको बताएकी छिन्। ११ बैठकमा भने उनी अनुपस्थित छिन् । अनुपस्थित हुनुको कारण पनि उनले उल्लेख गरेकी छिन् । गिरीले रोड सेफ्टी कन्फेरेन्स प्यानलिस्टको रुपमा भारत भ्रमणमा रहँदा र आमाको उपचार तथा मृत्यु संस्कारको क्रममा सदनको बैठकमा अनुपस्थित रहनुपरेको स्पष्ट गरेकी छिन् । उनले अघिल्लो बर्ष पनि आफ्नो रिपोर्ट काड प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्