साँफेबगर महोत्सवको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्ने तय

मंगलबार, माघ ८, २०८१

अछाम । अछामको साँफेबगरमा आयोजना हुन लागेको महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेले आउने तय भएको छ।  लायन्स क्लब अफ साँफेबगरले यही माघ ११ गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा रहेको छ । साँफेबगरको निमार्णधिन बसपार्कमा हुने महोत्सवको तयारी अन्तिमचरणमा रहेको आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन पर्यटन  मन्त्री पाण्डेले गर्ने कार्यक्रम तय भएको महोत्सव मुल आयोजक समितिका संयोजक कृष्ण कुँवरले जानकारी दिए।

बयालपाटा अस्पतालमा लायन्स क्लब अफ साँफेबगरले निर्माण गर्न लागेको अपुरो रक्त सञ्चार केन्द्र निर्माण सम्पन्न गर्ने उद्देश्यले सातौँ साँफेबगर महोत्सव हुँदैछ । महोत्सवको मुल नारा स्थानीय उत्पादन कला संस्कृति तथा पर्यटन प्रर्वद्र्धन रहेको छ ।

महोत्सवको मुख्य आकर्षकको रुपमा हेली टूर रहने कुँवरले जानकारी दिए । अछाम र बाजुरा जिल्लामा अवस्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरु बडिमालिका, खप्तड, रामारोशन र बैद्यनाथ क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरी पर्यटन गन्तव्यका रुपमा स्थापित गर्न हेली टूर संचालन गर्ने कुँवरले बताए।

उनका अनुसार महोत्सव अवधिमा साँफेबगरदेखि खप्तड, बडिमालिका र रामारोशन क्षेत्रमा हेलीकोप्टरबाट दर्शन तथा अवलोकन गर्न सकिने तयारी आयोजकले गरेको छ । साँफेबगरबाट बडिमालिका र रामारोशन प्रतिव्यक्ति ३० हजार,खप्तड प्रतिव्यक्ति २० हजार रुपैयाँ साँफे धनगढी प्रतिव्यक्ति ६० हजार तिरेर दर्शन तथा अवलोकन गर्न सकिने महोत्सव आयोजक समितिका प्रवक्ता महेश कुँवरले जानकारी दिए।

बजार विस्तार एवं नयाँ वस्तु उत्पादन गर्ने अवसर श्रृजना गर्ने, कृषि, जडिबुटी तथा हस्तकलाका उत्पादनलाई व्यवसायीकरण उन्मुख गराउन सहयोग गर्ने, सुदूरपश्चिमको मौलिक एवं परम्परागत कला, लोक संस्कृति एवं साहित्यको जगेर्ना एवं प्रवद्र्धनमा सहयोग पुर्याउने लगायतका महोत्सवका थप उद्देश्यहरु रहेको आयोजक संस्था लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष दिनेश कुँवरले जानकारी दिए।

महोत्सवमा स्थानीय परिकार कोदोको परिकार, सिस्नोको परिकार, पिनापानी, गतानी डुप्का, मासको तितौडा, फाडो, चामलका परिकारको अवलोकन तथा स्वाद लिन पाईने जनाइएको छ। महोत्सवमा चर्चित ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्