सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई कोहलपुरमा भब्य स्वागत तथा सम्मान गरिएको छ । आज कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकनका लागि आइपुगेका कप्तान पौडेललाई जनप्रतिनिधि तथा खेलप्रेमीहरुले स्वागत तथा सम्मान गरेका हुन् ।
कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी र सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा लगायतले पौडेललाई सम्मान गरेका हुन् । कप्तान पौडेललाई स्वागत गर्दै राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा राष्ट्रिय टिम छनौट समितिका संयोजक एलबी क्षेत्रीले प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई लुम्बिनीको पहिचानका रुपमा यसको प्रवद्र्धन र स्तरउन्नति गराउन खेलाडीहरुको महत्वपूर्ण भूमिका रहने बताइन् । कोहलपुर नगरपालिकाले हरेक वर्ष उपमेयर कप क्रिकेट प्रतियोगिता गराउँदै आएको जानकारी दिँदै उनले प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि समेत नगरपालिकाबाट बजेट विनियोजन गरिने बताइन्। कोहलपुर नगरपालिकाले शिक्षा र खेलकुदका क्षेत्रमा ठूलो लगानी गरिरहेको उनको भनाई थियो।
कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै कप्तान पौडेलले सम्मानले थप उर्जा प्राप्त भएको बताएका थिए । उनले स्थानीयस्तरबाटै खेलाडी उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने धारणा राखेका थिए ।
पौडेलले ८ फेब्रुअरी २०१८ मा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा नेपालका लागि लिस्ट ुएु बाट क्रिकेटमा डेब्यू गरेका थिए । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उनको यो पहिलो स्थलगत अवलोकन हो ।