नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल हुँदै

शनिबार, माघ ५, २०८१

नेपालगञ्ज । नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुँदैछ। अन्तराल नेपालगञ्जको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल यही फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा हुँदैछ । 

नेपालगञ्ज रंगशालामा आयोजना गरिने  प्रतियोगितालाई सभ्य तथा भव्यरुपमा संचालन गर्न युद्धस्तरमा तयारी थालिएको आयोजकले जानकारी गराएको छ । ‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आउजाउलाई आयोजकले  मुख्य प्राथमिकतामा राखेको अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले भने । प्रतियोगितामा भारतका दुई र नेपालका ६ गरी आठ वटा क्लबको सहभागिता रहने शाहले बताए ।

स्रोत व्यवस्थापनका आधारमा प्रतियोगिताका विजेता, उपविजेता र तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार उपलव्ध गराइनेछ  शाहले बताए।

शाहका अनुसार लुम्बिनी कप महिला फुटबलको सचिवालय नेपालगञ्ज रंगशालामा स्थापना भइसकेको छ । प्रतियोगिताका लागि विभिन्न उपसमिति समेत गठन गरेर केन्द्रदेखि जिल्ला तहसम्मका विभिन्न सरोकारवाला पक्षसंग समन्वय, सहकार्य र सहयोगका सम्बन्धमा छलफल शुरु गरिसकेको आयोजकले जनाएको छ । यति ठूलोे प्रतियोगिता नेपालगञ्जमा आयोजना गर्नु नै मुख्य चुनौति रहेको बताउँदै शाहले प्रतियोगिता आयोजनाको अगुवाई अन्तरालले गरे पनि यसमा सबैले अपनत्व ग्रहण गर्न सक्नुपर्ने बताए । 

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय एउटा सशक्त टीम सहभागी गराउने तयारी थालिएको बताए ।यता नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले प्रतियोगिताको प्रचार-प्रसारमा पत्रकारले कुनै कसर बाँकी नराख्ने बताउँदै सहजरुपमा समाचार संकलन गर्ने ब्यवस्था मिलाउन आयोजकको ध्यानाकर्षण गराएका छन्। 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्