संसद्लाई प्रभावकारी बढाउन सबै दलहरू एक ठाउँमा उभिएर काम गर्ने निष्कर्ष

शुक्रबार, माघ ४, २०८१

काठमाडौँ ।  संसद्लाई प्रभावकारी बढाउन सबै दलहरू एक ठाउँमा उभिएर काम गर्ने निष्कर्ष  संसद्का प्रमुख चार दलका प्रमुख सचेतकहरूको बैठकले निकालेको छ । आज सिंहदरबारमा भएको प्रमुख सचेतकहरुको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए । 

उनले सरकारले संसद्लाई दिएको बिजनेस वा विधेयकहरू छिटो–छरितो ढङ्गबाट कानून निर्माणको तहमा पुर्‍याउन संसदीय दलहरूले भूमिका खेल्ने विषयमा छलफल भएको बताए । उनले सरकारले संसद्मा ल्याएका विधेयकहरू संसद्ले पूर्णता नदिँदा वर्षौँ होल्ड भएर बस्ने समस्यालाई समस्यालाई हल गरेर जान प्रमुख चार दलहरुबीच सहमति भएको बताए । उनले कानून निर्माणको सवालमा संसद् अब्बल छ भनी प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताए ।

उनले भने, ‘आजको बैठकमा हामीले विधेयक निर्माणका सन्दर्भमा कसरी अगाडि बढ्नसक्छौं। हामीले साझा ढङ्गबाट संसदभित्रका कामहरू कसरी प्रभावकारी बनाउन सक्छौँ भन्ने विषयमा छलफल चलायौँ । सामान्यतया हामी संसदीय काम र प्रक्रियाहरूका सन्दर्भमा समय समयमा छलफल गरेर विधेयकका सन्दर्भमा होस्, कन्टेन्टका सन्दर्भमा र अन्य विषयमा पनि एकमत निर्माण गरेर अगाडि बढ्ने गरेको इतिहास नै छ । र यो नियमित प्रक्रियाभित्र रहेर आज हामीले छलफल गरेका हौँ । विषेशगरी प्रतिपक्ष र हामी चार वटा दलहरूका प्रमुख सचेतकहरूको मुख्यतया संसद्मा विचाराधीन विधेयकहरूका बारेमा विपक्षीको धारणाका विषयमा पनि छलफल गर्‍यौँ । र लामो समयसम्म सरकारले संसद्मा विधेयक दिने र संसद्ले पूर्णता नदिँदा वर्षौँ होल्ड भएर बस्ने समस्यालाई अगाडि दिनमा कसरी अगाडि बढाउन सक्छौँ । अगाडि दिनमा सरकारले सांसदलाई दिएको बिजनेस वा विधेयकहरू छिटो छरितो ढङ्गबाट कानून निर्माणको तहमा पुर्‍याउन हामी सांसदहरूले वा हामी संसदीय दलहरूले कुन प्रकारको भूमिका खेल्ने हो ? हामीले समय सीमा निर्धारण गरेर जाने हो भने कसरी जाने ? यी लगायतका विषयमा हामीले छलफल गर्‍यौँ । आम रूपमा हाम्रो आजको बैठकको निष्कर्ष भनेको संसद्को प्रभावकारिता हासिल गर्न र विधेयक निर्माणमा संसद् अब्बल छ भन्ने कुरा स्थापित गराउनका लागि सिङ्गो दलहरू एक ठाउँमा उभिएर काम गर्ने निष्कर्षमा पुग्यौैं ।’

बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्