बाँकेका कांग्रेस नेता कार्यकर्ताको सरकार र पार्टीलाई प्रश्नै प्रश्न

शुक्रबार, पुस २६, २०८१

बाँके  । नेपाली कांग्रेसका नेता कार्यकर्ताले सरकार र स्वयम् पार्टीलाई थुप्रै प्रश्न गरेका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा जिल्ला दौडाहमा रहेका केन्द्रीय सदस्यहरुसंगको कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय नेता कार्यकर्ताले दुई ठूला दल मिलेर सरकार बनाउँदा पनि जनताले त्यसको सुखद अनुभूति गर्न नपाएको गुनासो गरे ।

सुशासन र समृद्धिका लागि सरकार बनेको भनिए पनि औचित्य पुष्टि हुन नसकेको उनीहरुको भनाई छ । जनआकांक्षा अनुरुप काम हुन नसकेकाले पार्टी सरकारमा हुँदा पनि समाजले थुप्रै प्रश्नहरुको गरिरहेको उनीहरुको तर्क छ । जनजिविकाका सवालदेखि जनसरोकारका विषयहरुमा नेता कार्यकर्ताले प्रश्न उठाएका छन् ।

पार्टीमा क्रियाशील सदस्यता नवीकरण र वितरण तथा कार्यकर्ताको उचित मूल्यांकन र मनोभावनालाई सम्बोधन गर्न नसकेको उनीहरुको टिप्पणी छ । महासमिति सदस्य मेघराज ओली, माया पुन, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, जिल्ला सदस्य देब बहादुर खाँड, पुरन सिंह ठकुरी, सीता काफ्ले, शारदा शर्मा, गोपाल गिरी, अरुण विक्रम शाह लगायतले जिज्ञासा राखेका थिए ।

त्यसक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले कांग्रेस(एमाले गठबन्धन सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । साउदले मुलुकमा सुशासन र समृद्धि हासिल गर्नका लागि दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारबाट जनताको धेरै अपेक्षा रहेकाले गल्ती गर्ने छुट नरहेको बताए । भ्रष्टाचार, सुशासन, अर्थतन्त्रका विषयमा थुप्रै चुनौति देखिएको उनले बताए ।

कांग्रेसले संविधान संशोधन चाहेको स्पष्ट पार्दै उनले त्यसका लागि राष्ट्रिय सहमति भने आवश्यक रहेको बताए । संविधान संशोधनबारे प्रधानमन्त्रीको पछिल्लो अभिब्यक्तिले आशंका बढाएको उनको भनाई छ । सरकार बन्दा भएको सात बुँदे सहमतिमा पनि संविधान संशोधनको विषय उल्लेख भएको भन्दै उनले प्रधानमन्त्रीले आफ्नो अभिब्यक्तिलाई स्पष्ट पार्नुपर्ने बताए ।

नेपाली कांग्रेसलाई एकताबद्ध र सुदृढ गर्नुपर्नेमा जोड दिँदै साउदले १४औं महाधिवेशनको म्याण्डेट पनि एकताबद्ध कांग्रेस भएकाले सबै त्यसमा लाग्नुपर्ने बताए । उनले आफूहरुको भ्रमण कांग्रेसलाई मजबुत बनाउन रहेको बताए । बर्दियादेखि सुरु भएको यात्रा बाँके हुँदै कपिलबस्तु, नवलपरासी र नवलपुरसम्म पुग्ने उनको भनाई छ । टोलीमा साउदसहित केन्द्रिय सदस्यहरु डा.डिला संग्रौला, अब्दुल सत्तार र चम्पादेवी खड्का छन् । कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरुसंगै केन्द्रिय सदस्यहरु कृष्णकिशोर घिमिरे, मैकुलाल बाल्मिकीले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै जिल्ला सभापति नारायण प्रसाद गौडेलले कांग्रेस अरुको बैशाखी टेकेर सरकारमा जाने प्रबृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । उनले पार्टी सरकारमा हुँदा पनि जनअपेक्षा अनुसार काम हुन नसकेको टिप्पणी गरे । भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता रोकिन नसकेको भन्दै उनले सरकारले जनताको मन जित्नुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २१:०३
प्रतिक्रिया दिनुहोस्