थारुजाति लोकतान्त्रिक,बैज्ञानिक,संस्कृती र परम्पराको खानी: कांग्रेस नेता दीपक गिरी

शुक्रबार, पुस २६, २०८१

प्रमोद आचार्य(दंगीशरण,दाङ)। नेपाली कांग्रेस नेता तथा सांसद  दीपक गिरीले थारुजाति लोकतान्त्रिक,बैज्ञानिक,संस्कृती र परम्पराको खानी रहेको बताएका छ्न ।

दंगीशरण गाउँपालिकाको आयोजनामा २६ र २७ गते चल्ने दुई दिने 'माघि मघौटा म्याला' २०८१ को आज एक कार्यक्रमका विच उद्घाटन गर्दै दाङ क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य एवं  पूर्व सिंचाइ मन्त्री गिरीले थारु संस्कार अनुसार निश्राउ दिएर मघौटा मेलाको उद्घाटन गरेका हुन।

सांसद गिरीले आफू निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट चुनाव लडेपनि निर्वाचनबाट निर्वाचित भए पश्चात्  समग्र दाङ- ३ को साझा बिकासका लागि अगाडि बढेको बताए।

आफ्नो क्षेत्रमा पहिलेदेखि सिंचाइका लागि किसानहरुले बाध तथा कुला लाग्नका लागि झ्याला बोक्नुपर्ने प्रथाको अन्त्य गर्दै दाङमा तटबन्ध तथा पक्कि बाधहरुको शुरुवात गरेको  गिरीले बताए ।

अर्को प्रसङ्गमा गिरीले आफू छोटो समयमा सिंचाइ मन्त्री हुँदा  दाङको सिंचाइको बृहत्तर विकासका लागि बृहत्तर दाङ् सिंचाइ योजना स्थापना गर्न सफल भएको र यहाँको सिंचाइ  सम्बन्धी समस्याको अन्त्य गर्न मदत पुगेको उनले बताए । आफ्नो क्षेत्रमा बजेट परेका योजनाहरुको ठेकेदारको लापरबाहीले सम्पन्न हुन नसकेका योजनाहरु कार्यान्वयन गराउनतर्फ आफू लागेको गिरीले  बताए ।

सांसद गिरीले किसान र बेरोजगार युवाहरुको पक्षमा आफूले सदैब सदनमा आवाज उठाउदै आएको समेत जानकारी गराए ।

शुक्रबार र शनिवार दुई दिन चल्ने माघि मघौटा म्यालामा थारु जातीहरुको इतिहास र सस्कार झल्कने सामाग्रीहरु समेत प्रदर्शन गरिएको छ ।मघौटा मेलामा दंगीशरण गाउँपालिका भित्र स्थानिय स्तरमा उत्पादित कच्चापदार्थ बाट निर्मित स्थानीय हस्तकलाहरु समेत राखिएको छ।

यस्तै थारुजातीका पुराना पुरान पैया नाच,लठ्ठवा नाच,कठगोरी नाच ,ढोलाहा नाच,सख्या नाच,लगायतका ७ वटै वडाबाट आएका करीव ३५ बढि नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

मघौटा मेलाका प्रमुख सल्लाहकार वडा नं. ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितीका संयोजक रोशन जंग शाह रहेका छ्न भने मेला सफल पार्न शुकलाल चौधरीको सयोजकत्वमा बिभिन्न उपसमिती समेत गठन गरिएको छ ।

मघौटा म्यलाका संयोजक शुकलाल चौधरीको अध्यक्षता, सांसद गिरी गिरीको प्रमुख आतिथ्यता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको विशिष्ट आतिथ्यतामा मेलाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्