रवि र छविलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश

बिहीबार, पुस २५, २०८१

काठमाडौँ । रवि लामिछानेलाई जिल्ला अदालत  कास्कीले धरौटीमा रिहा गर्न आदेश दिएको छ। पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

त्यस्तै पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सहकारीको बचत रकम अपचलन मुद्दामा  बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो । 

लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो। गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्