प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित

मंगलबार, साउन १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। प्रतिनिधि सभाले एक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक खुलाउन एमाले राजी नभएपछि बैठक साउन २२ गते बस्ने गरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । 

साउन १० गतेदेखि संसद बैठक बस्न सकेको छैन । साउन १० गते पनि अवरोधबीच केही क्षणमात्र बसेर विषय प्रवेश नगरी १५ गतेसम्मका लागि स्थगित भएको थियो । हिजोको बैठक पनि बस्न सकेन र आजका लागि सारिएको थियो । 

आजको बैठक पनि बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ।

एमालेले साउन ३ गते नियन्त्रणमा लिइएको अवैध सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउँदासम्म संसद् चल्न नदिने बताएपछि अवरोध हटाउन सभामुखले हिजैदेखि पहल थालेका थिए । 

आज पनि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। 

उक्त बैठकमा एमालेले सबैलाई आफ्ना धारणा राख्न दिने र सुन काण्डबारे छानबिन गर्न समिति बनाउन प्रस्ताव गर्ने बताएको थियो । 

तर त्यसपछि भने बैठक नै अगाडि बढ्ने माहोल नदेखेपछि सभामुख घिमिरेले २२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । अब बैठक २२ दिउँसो १ बजे बस्नेछ । 

 

 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्