सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विमति जनाएका छन् ।
झापाको कचनकवलबाट बोल्दै आज महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति राखे । उनले एमाले केन्द्रीय कमिटीको बैठकमा २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्ने धारणा राखेको भन्दै असहमति जनाए ।
उनले सात बुँदे समझदारीताका संविधान संशोधन आजको आवश्यकता भएकाले यही जगमा पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेको बताए । उनले संविधान संशोधन गर्न राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) को सहभागिता आवश्यक रहेको भन्दै माओवादी केन्द्र बिना दुई तिहाइको गणित नपुग्ने बताए । संविधान संशोधन गर्नका लागि गणितीय रूपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा नरहेको पनि स्पष्ट पारे ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको मैले सुनेँ यदि उहाँले नेकपा एमालेको बैठक हुँदै गर्दा भन्नुभएको संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु । सात बुँदे समझदारी गर्दै गर्दा हामीले संविधान संशोधन आजको आवश्यकता जगमा यसलाई पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेका छौँ । संविधान संशोधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादी पार्टीको सहभागिता भएन भने दुई तिहाइको गणित पुग्दैन । हामीले संविधान संशोधन गर्नका लागि गणितीय रूपमा पुग्दैन भनेर ब्याक गियर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यू । प्रधानमन्त्रीज्यूले, हाम्रो पार्टीको सभापतिज्यूले हामी दुई मुख्य दलले सरकारमा रहेको बेला हामी मात्रै संविधान संशोधन गरेर जान्छौँ भनेर हामीले घोषणा गरेको होइन ।’
महामन्त्री शर्माले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताए । ०८७ मै संविधान संशोधन गर्ने भए पनि कांग्रेस र एमालेको छलफलपछि मात्रै भन्न पाउने बताए । बिना छलफल ०८७ मा संविधान संशोधन गर्छौँ भन्ने हक एमाले पार्टीको अध्यक्ष र कांग्रेसको महामन्त्री कसैलाई पनि नरहेको जिकिर गरे ।