सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउने गरी भूमिका बढाउनुपर्ने बताएका छन् ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउने गरी भूमिका बढाउन आवश्यक रहेको धारणा राखेका हुन् ।
विश्वविद्यालयको छैठौं सभा (सिनेट) बैठकलाई आज बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्वविद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको धारणा राखे । ‘यो विश्वविद्यालयलाई देशकै नमुना बनाउन चाहन्छौं । देशका विभिन्न स्थानबाट विद्यार्थीहरु यहाँ पढ्न आउने वातावरण र अवसर सरकारले सृजना गर्न चाहन्छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘युगले खोजेको जनशक्ति, विश्व बजारमा खपत हुन सक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउन चाहन्छौं । यो विश्वविद्यालयलाई सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्ने बारेमा हामी सबै गम्भीर भएर अझ परिस्कृत गरेर अघि बढ्न जरुरी छ ।’
प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने संकल्पसहित विश्वविद्यालय स्थापना गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरुको अध्ययन केन्द्रको रुपमा समेत विकास गर्ने लक्ष्य रहेको बताए । ‘विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्छ । आवश्यकताको आधारमा संकायहरु थप गर्ने बारेमा पनि सोच्न जरुरी छ,’ उनले भने, ‘विद्यार्थीलाई कामसंग जोड्नैपर्छ । सरकारले यसमा ध्यान दिन्छ ।’ विश्वविद्यालयका कुलपति समेत रहनुभएका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको समेत जानकारी गराए ।
विश्वविद्यालयको सिनेट बैठकमा आर्थिक बर्ष २०८०/०१ को बार्षिक प्रगतिको समिक्षा, चालू आर्थिक बर्षको बजेट तथा कार्यक्रम लगायत विविध बिषयहरुमा छलफल भएको थियो ।