सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कोहलपुर । शीतलहर र अत्यधिक चिसो बढेपछि कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
विगत केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि बुधवारदेखि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।
कोहलपुरको मुख्य चौराह, साझा चोक, हाइस्कुल, पिपरी, हवल्दारपुर, मदनचोक, कौशिलानगर, चप्परगौरी लगायतका मानिसहरु बढी जमघट हुने मुख्य राजमार्ग क्षेत्रका चोकहरुमा दाउरा वितरण सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले बताए । उनका अनुसार जिल्ला वन पैदावर आपूर्ति समितिबाट ६ चट्टा दाउरा खरिद गरी इलाका प्रहरी कार्यालय कोहलपुरसँगको सहकार्यमा वितरण सुरु गरिएको छ ।
‘कोहलपुर नगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउनका लागि आगो ताप्ने व्यवस्था मिलाउँदै आएको छ,' थापाले भने–‘यो बर्ष पनि दाउरा खरिद गरेर चोक–चोकमा नगर प्रहरी आफैँ खटिएर आगो ताप्ने व्यवस्था मिलाइरहेको छ ।’
चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरु बढी कष्ट सहनु परेको छ । चिसोले जिल्लाको जनजीवन दिनदिनै कष्टकर बन्दै गएको छ । मंगलबारबारदेखि बाँकेमा शीतलहर सुरु भएको छ ।