ग्यासको मूल्य ह्वात्तै घटेर आउँदा पेट्रोलको ८ रुपैयाँ बढेर आयो

मंगलबार, साउन १६, २०८०

काठमाडौं । धेरै समयपछि १० रुपैयाँ घटेको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर फेरि अझै ह्वात्तै घट्ने भएको छ । 

आज भारतीय आयल निगम (आईओसी) बाट ग्यासको मूल्य प्रतिसिलिन्डरमा १०० रुपैयाँले घटेर आएपछि सोही अनुसार मूल्य घट्ने भएको हो । 

१५ दिनअघि नै नेपालमा स्वचालित प्रणाली लागू भएकाले अब सोहीअनुसार मूल्य घट्ने नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । 

उनले भने, ‘ग्यासमा घटेर आएको छ, पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा बढेर आएको छ । अब त्यसमा भ्याट जोडेर मूल्य घटबढ हुन्छ ।’

साँझ बस्ने बोर्ड बैठकले मूल्य निर्धारण गर्नेछ । 

भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर आठ, डिजेल प्रतिलिटर सात, मट्टितेल प्रतिलिटर सात रुपैयाँ ५० पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर आठ रुपैयाँ ५० पैसाका दरले बढेर आएको छ । 

त्यसमा भ्याट मिलान गरेर मूल्य सार्वजनिक गरिने छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । प्रवक्ता ठाकुरले घटबढ भएर आएको रकममा भ्याट मिलान गरेर मूल्य पनि सार्वजनिक हुने बताए । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्