सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कोहलपुर । नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिलाई कोहलपुर नगरपालिकाल्र बधाई तथा सम्मान गरेको छ । कोहलपुर नगरपालिकामा भएको कार्यक्रममा बाँकेबाट नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशमा निर्वाचित पदाधिकारी, सदस्य तथा पार्षदहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले महासंघसँग संस्थागत रुपमा सहकार्य गर्दै पत्रकारहरुको व्यवसायिक विकास सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने,‘ नेपाल पत्रकार महासंघ बाँकेसँग हामीले विगतदेखि नै संस्थागत रुपमा सहकार्य गर्दै आएको छौं । मिडियाको क्षेत्रमा अन्य धेरै कुराहरु गर्न बाँकी छ । त्यसको लागि एउटा कार्यविधि बनाएर अगाडि बढनुपर्नेछ ।’
समाचारको विषयलाई लिएर पत्रकारसँग कोहलपुर नगरपालिकाले कुनै आग्रह–पूर्वाग्रह नराखेको बताउँदै प्रमुख आचार्यले सकारात्मक आलोचनाले आफूहरुलाई सहयोग गर्ने बताए । उनले भने ,‘एउटा पत्रकारले गलत गर्दैमा सिंगो पत्रकारिता जगतलाई हेर्ने दृष्टिकोण उही हुनु हुँदैन । कुनै एउटा जनप्रतिनिधिले गरेको गल्तीलाई हेरेर सिंगो जनप्रतिनिधिलाई हेर्ने नजर उही हुनु हुँदैन् ।’ कोहलपुर नगरपालिकाले हरेक वर्ष आफ्नो बजेटमा पत्रकारिताको विकासमा बजेट छुटयाउने गरेको बताउँदै आचार्यले यसलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले कोहलपुर नगरपालिकालाई धन्यवाद दिँदै सहकार्यलाई नयाँ उचाई दिने गरी अझ बलियो बनाएर जानुपर्ने बताए । उनले भने ,‘कोहलपुर नगरपालिकाले विगतदेखि पत्रकारहरुसँग संस्थागत रुपमा सहकार्य गर्दै आएको छ । आगामी दिनमा यसलाई अझ बलियो र प्रभावकारी बनाएर जानुपर्छ । स्थानीय मिडियाको उत्थान र पत्रकारहरुको विकासमा कोहलपुर नगरपालिकाले फराकिलो छाती बनाएर काम गर्ने हामीले विश्वास लिएका छौं ।’
पत्रकारिताको आचारसंहितालाई उल्लंघन गर्दै मिडियालाई बदनाम गराउने पत्रकारलाई महासंघले संरक्षण नगर्ने अध्यक्ष गिरीले बताए । उहाँले भने, ‘जनप्रतिनिधिहरुको राम्रा कुरालाई प्रशंसा गर्दै तथ्यमा आधारित समालोचना हामीले गर्ने हो । गलत नियतले मिडियामा प्रवेश गरेका व्यक्तिले आम पत्रकारितालाई बदनाम गराउने काम गरेका छन् । पत्रकारको नाममा गलत अभ्यास गर्नेलाई संरक्षण गर्नु हुँदैन ।’
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले स्थानीय सरकारलाई सही बाटोमा लग्नको लागि सुशासन, जवाफदेहितामा पत्रकारहरुले सधैं सचेत गराइरहनुपर्ने बताए । कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।