सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुसंगको संस्थागत सहकार्यलाई प्रभावकारी बनाउँदै लैजाने भएको छ ।
कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सामाजिक विकास समितिले आज कोहलपुर नगरपालिकाको सभाहलमा कोहलपुर क्षेत्रमा क्रियाशील संघसंस्थालाई बोलाएर राखेको समन्वयात्मक बैठकमा नगरपालिकाले संस्थागत सहकार्यलाई प्रभावकारी बनाउदै लैजाने सन्देश दिएको हो ।
‘कोहलपुर नगरपालिका कार्य क्षेत्र भएका संघसंस्थाहरुको बीच संवादको थालनी गर्दै पालिकामा साझेदार संस्थाहरुको साझेदारीका लागि साझा पहल गर्ने प्रयास प्रारम्भ भएको छ,ु कार्यक्रमका फोकल पर्सन समेत रहेका रोजगार शाखा प्रमुख आशिष बर्माले भने–‘अब एनजिओ-आइएनजियोसंग मिलेर कोहलपुर नगरपालिका सामाजिक मुद्दामा पैरवी गर्ने योजनामा छ ।’ संस्थाको कार्यक्रमले कोहलपुरको कुन क्षेत्रमा कसरी योगदान दिरहेको छ, त्यसको समेत खोजी गर्न सुरु गरेको पनि फोकल पर्सन बर्माले बताए । ‘जसले गर्दा डुप्लिकेशन नहोस् भन्ने पनि हो’– बर्माले भने । संस्थासंगको समन्वय अभावका कारण उस्तै प्रकृतिका कार्यक्रम एउटै ठाउँमा संचालन हुँदा त्यसले सकारात्मक सन्देश नजाने नगरपालिकाको बुझाई छ ।
समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गैरसरकारी संस्थाको बजेटमा अब एकद्वार प्रणाली कायम गर्न जरुरी भएको बताए । गैरसरकारी संघसंस्थासंगको समन्वय र सहकार्य अत्यन्तै जरुरी रहेको बताउँदै उनले बजेटमा एकद्वार प्रणाली कायम गर्न सकियो भने कार्यक्रममा हुने दोहोरोपन हट्ने बताए । सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिकको अध्यक्षतामा भएको बैठकमा विभिन्न संघसंस्थाहरुले आ–आफ्नो संस्थाले गर्दै आएको कामहरुको बारेमा रिपोर्टिङ प्रस्तुत गरेका थिए ।
सामाजिक विकास तथा दर्ता शाखा प्रमुख वीरबहादुर बिकले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष गौरा भट्टराई, कार्यपालिका सदस्य भुप बहादुर दर्जी लगायतको सहभागिता रहेको थियो ।