बाघसहित विभिन्न जनावरको आक्रमणमा ८३ जनाको मृत्यु

सोमबार, पुस २२, २०८१

काठमाडौं । आर्थिक वर्ष २०८१-०८२ को ५ महिनामा विभिन्न जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जनाको उद्धार गरिएको थियो।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार गत साउन महिनादेखि मंसिरसम्म देशका विभिन्न स्थानमा भएको जंगली जनावरको आक्रमणमा ८३ जनाको मृत्यु भएको हो।

जंगली जनावरतर्फ हात्तीको आक्रमणमा ६ जनाको मृत्यु हुँदा बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ। त्यसैगरी गैंडाको आक्रमणमा ४ जनाको मृत्यु भएको थियो।
विषालु सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै प्रहरीका अनुसार हात्तीको आक्रमणमा १४ जना घाइते हुँदा ३ जनाको सकुशल उद्धार गरिएको हो भने बाघको आक्रमणमा २४ जना घाइते हुँदा ११ जनालाई उद्धार गरिएको थियो। गैंडाको आक्रमणमा १४ जना घाइते हुँदै गर्दा ४ जनाको उद्धार गरिएको थियो।

विभिन्न स्थानमा जंगली भालुको आक्रमणमा कसैको पनि मृत्यु नहुँदा १५ जना भने घाइते भएको र २ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले तयार परेको रिपोर्टमा  विषालु सर्पको टोकाइबाट ५३२ जना घाइते हुँदा सर्पका कारण  जोखिम अवस्थामा रहेका २३६ जनाको उद्धार गरिएको छ।

पछिल्लो समय देशका विभिन्न स्थानमा जंगली जनावरबाट हुने मानवीय क्षेतिका घटनाहरु बढ्दै गएका कारण प्रहरी प्रधान कार्यालयले सम्भावित जोखिमयुक्त क्षेत्रहरुमा सकेसम्म नजान र सबैलाई सचेत गर्दै सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्