मापसे चेकिङमा झडप, प्रहरीले चलायो ५ राउन्ड हवाई फायर

आइतबार, पुस २१, २०८१

काठमाडौं नेपाल प्रहरीले झडपलाई नियन्त्रणमा लिन हवाई फायर गरेको छ। सर्लाहीको रामनगर गाउँपालिका-५ मा स्थानीय र प्रहरीबीच भएको झडपलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर गरेको हो।

उक्त वडाको वैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहियाबाट गए राति मापसे जाँचमा खटिएको प्रहरीसँग स्थानीय युवाहरुको विवाद हुँदा स्थिति  तनावपूर्ण भएपछिको झडप भएको थियो।

मापसे जाँचमा स्थानीयले प्रहरीमाथि नै आक्रमण गरेपछि स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

प्रहरीको चेकिङमा सोही वडाका वडाध्यक्ष श्रीनन्दन यादव नेतृत्वको स्थानीयको टोलीले मापसे जाँच लाई अवरोध गर्न खोज्दा  भएको झडपमा ड्युटीमा खटिएका प्रहरी हवल्दार शैलेन्द्र राय घाइते भएका थिए। हवल्दार रायको जनकपुरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी हवल्दार नै स्थानीयको आक्रमणमा घाइते भएपछि स्थित झडपमा परिणत भएको थियो। स्थिति तनावग्रस्त बनेपछि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको सर्लाही प्रहरीले जानकारी दिएको छ।

त्यस समयमा इलाका प्रहरी गडहियाको टोलीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डीएसपीको नेतृत्वमा गएको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्