तुलसीपुरमा मेला लगाउँदा २५ लाख राजश्व तिर्नुपर्ने

शुक्रबार, पुस १९, २०८१

तुलसीपुर तुलसीपुर उपमहानगरपालिकामा मेला लगाउने अबदेखि २५ लाख राजश्व बुझाउनु पर्ने भएको छ। उपमहानगरका मेयर टीकाराम खड्काका अनुसार मेलाका लागि २५ लाख रुपैयाँ राजश्व बुझाउनलेहरुले मात्रै तुलसीपुरमा मेला महोत्सव लगाउन पाउने भएका छन् ।

मेयर खड्काको अध्यक्षतामा शुक्रबार बसेको २८औं कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

अबदेखि उपमहानगरलाई २५ लाख राजश्व बुझाउनेलाई मात्रै मेला मेहोत्सव सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको एक जना वडाध्यक्षले बताए ।

‘अबदेखि यहाँ कुनैपनि संघ संगठनले मेला महोत्सव लगाउन चाहे उनीहरुले उपमहानगरपालिकालाई २५ लाख बुझाउनु पर्ने छ,’ ती वडाध्यक्षले नाम उल्लेख नगर्ने सर्तमा भने ‘ बैठकले यो पटक च्याम्बर अफ कमर्षलाई मेला लगाउन दिने निर्णयपनि गरेको छ ।’

यसअघि मेला महोत्सव लगाउने संघ संगठनहरुले धरौटीका रुपमा उपमहानगरलाई एक लाख रुपैंया राख्नु पर्ने प्राबधान थियो । त्यस्तै शुक्रबारको पालिका बैठकले माघ २१ गतेदेखि हिउँदे अधिबेसन सुरु गर्ने निर्णयपनि गरेको छ ।

साथै बैठकले माघ महिनादेखि मेयर कप खेलकुद प्रतियोगिता पनि सुरु गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २२:५२
प्रतिक्रिया दिनुहोस्