सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको उल्लेख गर्दै प्रचण्डले पछिल्लो कार्यकालमा भ्रष्टाचारको विरुद्ध,सामाजिक विभेदको विरुद्ध र सुशासनको पक्षमा इमानदारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको जिकिर गरे । उनले आफू भावुक रहेको र आफ्नो निष्ठा सफा रहेको बताए। उनले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्ने कुरामा आफू सहमत रहेको बताए ।
‘सरकारमा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा अर्जुनजीले पनि भन्नुभयो । महेशजीले पनि त्यसलाई अलिकति सङ्केत गर्नुभयो। म के भन्न चाहन्छु भने मैले कम्तीमा पनि पछिल्लो कार्यकाल मैले भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमानदारितापूर्वक गरेँ । मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले बाहिर आउँदा पनि मैले त्यही बोलेको छु भन्ने मेरो विश्वास छ । कहिले कहीँ शब्द तलमाथि पर्न सक्छ,किनभने म अलि भावुक छु भन्ने नेपाली समाजले बुझिसकेको छ । तर मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले र सबै साथीले बुझ्दै जानुभएको छ । मैले अहिले पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी राम्रोसँग जानुपर्छ भन्ने कुरा मा दुईमत छैन । एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्ने कुरा पनि साँचो हो । तर जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ, सदनमा प्रश्न उठेका छन् गम्भीर ढङ्गले जनताले हेर्न चाहेका छन् इमानदारिताका साथ अनुसन्धानमा लाग्न जरुरी छ । सहमति त्यसको निम्तिहुनुपर्छ ।’