सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
अवधि पत्रकार संघ नेपालले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले संविधान विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन गर्नुपर्ने बताए ।
समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन आफ्नो पार्टीलाई मान्य नहुने उनको भनाई छ । उनले सबैले अपनत्व लिने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । यादवले संघियता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले मुलुकमा राजनीतिक परिवर्तन भए पनि संस्थागत हुन नसकेको बताए । संघियता र गणतन्त्र संस्थागत हुन नसकेको टिप्पणी गर्दै अध्यक्ष यादवले संघियता त्रुटिपूर्ण रहेकाले पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । संविधान जारी हुँदादेखि नै आफूहरुको विमति रहेको स्मरण गराउँदै उनले अब संविधान परिमार्जनका विषयमा फराकिलो ढंगले सोच्नुपर्ने बताए । राजनीतिक परिवर्तनले आर्थिक सामाजिक रुपान्तरणलाई जोडेन नसकेको भन्दै यादवले मुलुकमा बेथिति, अराजकता र भ्रष्टाचार बढेको टिप्पणी गरे ।
पत्रकार भेटघाट अवधि पत्रकार संघ नेपालका अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो । पत्रकार भेटघाटमा जसपा नेपालका केन्द्रिय सचिव एवम् नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई लगायत नेता उपस्थित थिए । कार्यक्रम सञ्चालन अवधि पत्रकार संघ नेपालका महासचिव गुरमुरत यादवले गरेका थिए ।