सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । दाङस्थित लमही-भालुवाङ सडक खण्डमा सवारी दुर्घटना बढ्दै जादा टाइम कार्ड लागू गरिएको छ। पछिल्लो समयमा त्यस सडक खण्डमा अत्यधिक दुर्घटना बढ्न थालेपछि टाइम कार्ड लागू गरिएको जिल्ला प्रहरी दाङका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।
त्यस स्थानमा दैनिक जसो दुर्घटना भएर दिनहुँ मानिसको मृत्यु हुने र घाइते हुने क्रम बढेपछि दुर्घटना न्यूनीकरणका लागि जिल्ला सुरक्षा समिति दाङको निर्णय अनुसार लमही-भालुवाङ सडक खण्डभित्र पर्ने नर्तीदेखि भालुवाङसम्म पुस १५ गतेदेखि टाइम कार्ड लागू गरिएको हो।
पुस १५ गतेदेखि लागू गरिएको टाइम कार्ड आगामी ३ महिनासम्मका लागि परीक्षणका रुपमा हेरिने एसपी तिमिल्सिनाले जानकारी दिए। एसपी तिमिल्सिनाले भने-" त्यहाँको बाटो पनि साँघुरो र दैनिक रुपमा ज्यानै जाने दुर्घटना भएर आजित भएका स्थानीयहरु टाइम कार्ड लागू हुँदा राहतको अनुभुति गरिरहेका छन् ।"
४ दिनअघि टाइम कार्ड लागू गरिएपछि त्यस दिनदेखि हालसम्म एउटा पनि दुर्घटना नभएको एसपी तिमिल्सिनाले बताए।
दाङ प्रहरीका अनुसार हाललाई दैनिक रुपमा बेलुका ४ बजेदेखि ८ बजेसम्म परीक्षणका लागि त्यस सडक खण्डमा टाइम कार्ड लागू गरिएको छ। तिमिल्सिनाका अनुसार १५ किलोमिटर दुरीमा रहेको नर्तीदेखि भालुवाङ पुग्न २५ मिनेटको समय लागू गरिएको छ।
त्यस स्थानमा पैदलयात्री पनि बढी हिड्ने, बाटो अप्ठ्यारो र साँघुरो रहेको अवस्थामा टाइम कार्ड लागूले दुर्घटनाको झन्झट टर्दै गएको त्यहाँका जनप्रतिनिधिहरु पनि बताउँछन् । हाल पूर्वतर्फबाट आउने सवारीसाधनलाई भालुवाङबाट र पश्चिमतर्फबाट आउँने सवारीसाधनलाई नर्तीमा खटाइएको प्रहरी र ट्राफिक प्रहरीको टोलीले टाइम कार्ड जारी गर्दै आएका छन् ।