नेपालगञ्ज उद्योग वाणिज्य संघ निर्वाचनः यी हुन् प्रजातान्त्रिक प्यानलका पदाधिकारीका उम्मेदवार

मंगलबार, साउन १६, २०८०

नेपालगञ्ज । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले आगामी भदौ २ गते हुने नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो प्यानलबाट पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ ।

प्रजातान्त्रिक  प्यानलले लगभग सबै उम्मेदवारहरुको नाम टुंगो लगाइसकेको नेपाली कांग्रेस बाँकेबाट निर्वाचनमा खटिएका उपसभापति गोपाल अधिकारीले बताए । उपसभापति अधिकारीका अनुसार अध्यक्षका उम्मेदवार ललित रौनियार प्यानलमा राप्रपाबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) का सभापति मो. सफिक बेहनाले उद्योगतर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिँदैछन् ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका एक व्यापारी नेताले  नेपालगञ्ज ४ का निवर्तमान वडाध्यक्ष समेत रहेका बेहना प्रजातान्त्रिक प्यानलमा आउनु राम्रो रहेको तर्क गरेका छन् । आगामी निर्वाचनमा रौनियार प्यानलबाट उद्योगतर्फको उपाध्यक्षका लागि सबैका प्रिय रहेका नेपालगञ्ज-४ का निवर्तमान वडाध्यक्ष बेहनाले उम्मेदवारी दिने भएपछि नेपालगञ्ज उद्योग वाणिज्य संघका साधारण सदस्यहरु समेत हौसिएको चर्चा छ । 

व्यवसायी बृत्तमा राम्रो छबि बनाएका बेहनाले अहिले देखिएको व्यवसायिक समस्या समाधान गर्दै संघलाई बलियो बनाउन आफूले प्रजातान्त्रिक  प्यानलबाट उम्मेदवारी दिन लागेको बताएका छन् । अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुगेकाले  पुरानो शाख जोगाउन उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवारी दिँदै गरेको उनले बताए ।

आफू संघमा उद्योग उपाध्यक्ष भएर विभिन्न समितिको जिम्मेवारी लिँदा बाणिज्य संघको हकहित र अधिकार संरक्षण तथा दायरा ठूलो बनाउने काम गर्ने प्रतिवद्धता बेहनाको छ । वडाध्यक्ष हुँदा होस् वा अरु बेला पनि बेहना नेपालगञ्ज उद्योग वाणिज्य संघको हकहितको लागि बोल्दै आएका छन् । 

सामाजिक सेवा गर्न रुचाउने बेहना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) का सभापति समेत हुन् । गरिव र दुःखीका साहारा भनेर चिनिने बेहनासंग नेपालगञ्ज उपमहानगरपालिकाको कार्यबहाक मेयर भएर कार्य गरेको अनुभव समेत छ । निवर्तमान वडाध्यक्ष बेहनाले कोरोना कहरका बेलामा अस्पताल, सुरक्षा निकाय, गरिब, बेसहारालाई स्वास्थ्य सामग्री लगायत खाद्यान्न समेत निःशुल्क वितरण गरेका थिए । 

कांग्रेस उपसभापति अधिकारीका अनुसार प्रजातान्त्रिक  प्यानलबाट पदाधिकारीतर्फ अध्यक्षमा रौनियार, उद्योगतर्फको उपाध्यक्षमा बेहना, बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा करिष्मा योगी (नेकपा समाजवादी), महासचिवमा टंकप्रसाद शर्मा, उपमहासचिवमा टेकबहादुर खड्का र  कोषाध्यक्षमा मख्खन धामी रहेका छन् । सदस्यहरुको सूचीलाई भने अझै अन्तिम रुप दिन बाँकी रहेको बताइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्