सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्न सक्ने गरी संविधान संशोधन गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।
आज काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पाँच वर्ष संसदमात्रै स्थिर रहने नभइ प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेको बताए । उनले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्ने बताए ।
उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको भन्दै संविधान संशोधनको ढोका खोल्दा स्थिर सरकार र प्रधानमन्त्रीको कुरामा जोड दिनुपर्ने बताए । अब समुन्नतिको सन्दर्भमा मेलमिलाप जरुरी रहेको बताए । महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्ने गरी ल्याउनुपर्ने बताए । सबै विकास भइसकेको जसरी राति काम नै नहुने झैँ सूर्य अस्त, नेपाल मस्त हुनु नहुने उनको टिप्पणी थियो । उनले जन्म मितिले नयाँ राजनीतिक दलहरू नभइ प्रवृत्तिबाट राजनीतिक दलहरू आवश्यक रहेको बताए । पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको गहन अध्ययन जरुरी रहेको बताए ।
उनले भने, ‘नयाँ भनिरहँदा जन्म मितिले नयाँ भएर हुँदैन । प्रवृत्तिले नयाँ हो की होइन, प्रवृत्तिको हिसाबले नयाँ हो की होइन । त्यसैले अबको मेलमिलाप के हो त ? यही पद्धतिभित्र नवीनता के हो त ? अब भन्दा यही पद्धतिभित्र संयमपूर्वक परिपक्वतापूर्वक राजनैतिक संस्कृतिको विकास हो । यही पद्धतिभित्र पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको यो विषयको गहन अध्ययन गरी पुँजीगत बजेट खर्च गर्न सक्ने बलियो कानून निर्माण गरेर त्योअनुसारको संरचनाको निर्माण । बुटवलदेखि नारायणगढ हेर्यो तीन वर्षमा सक्ने भनेर सात वर्ष लाग्छ । प्रधानमन्त्री केपी शर्मा ओली हुँदै गर्दा शिलान्यास गर्नुभएको बाटो उन अर्को पटक प्रधानमन्त्री भएर भूतपूर्व हुने बिस्तारै दिन आउनति लागिसक्यो अब फेरि पनि बनेको छैन । दक्षिणको मित्रले लिएको हुलाकी मार्ग अलपत्रै छ। दक्षिणसँग दृढतापूर्वक कुरा गर्नुपर्यो । उत्तरले जिम्मा लिएको पोखरा-मुग्लिङको बाटो भन्नुस्, बुटवलदेखि नारायणगढसम्मको बाटो त्यस्तै छ । उनीहरूसँग दृढतापूर्वक कुरा गर्नुपर्यो । आफ्नो राष्ट्रलाई चीनले चमत्कारपूर्वक बनउनसक्ने अनि हाम्रोमा बनाउँदै गर्दा चीनको कम्पनीले लिएको बाटो ढिलो हुनुपर्ने । भारतले लिएको बाटोको जिम्मामा ढिलाइ हुने । राष्ट्रले राष्ट्रिय सम्मानलाई केन्द्रमा राखेर उत्तर र दक्षिणका राष्ट्रसँग गहन छलफल गर्नुपर्छ । यही पद्धतिभित्र काममा गति बढाउनुपर्छ । बजेट बन्ने बेला आउँदै छ, सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह छ, बजेटको नीति ल्याउँदै गर्दा बजेटको नीति र प्राथमिकता चाँडै सरकारले ल्याउँदै छ । तीन सिफ्टमा काम गर्ने गरी सरकारले लिएर आओस्। कमरेड केपी ओलीले यसको श्रेय लिनुस् । धनी देश अमेरिका, बेलायत राति पनि बाटो बनाउँछ, गरिब देश नेपाल सूर्य अस्त नेपाल मस्त? अलिकति पिएर होस् की नपिएर होस् सबै नेपालमा घुरिरहेका हुन्छौँ । हामीलाई हतार नै नभएको जस्तो । सरकारले नीतिमा काम गर्ने कुरा ल्याउनुपर्यो । अब समुन्नतिको सन्दर्भमा मेलमिलाप हुनुपर्छ । राजनीतिमा भइसक्यो । संसद् ५ वर्षसम्म अब कुनै बहादुरले भङ्ग गरेर हुँदैन । हामीलाई ५ वर्ष स्थिर रहने संसद् मात्रै होइन, अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो । अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ । संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ठूलो कुरा होइन ।’