सशस्त्र प्रहरी बल नं.२८ गण कपिलवस्तुले मनायो आफ्नो १८ औं स्थापना दिवस

मंगलबार, पुस १६, २०८१

कपिलवस्तु । सशस्त्र प्रहरी नम्बर २८ गण कपिलवस्तुले   आफ्नो १८ औं  वार्षिकोत्सब (स्थापना दिवस)  विभिन्न कार्यक्रम गरी  मनाएको छ। 

सोमबार सशस्त्र प्रहरी बल नं.२८ गणमा आयोजित वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै  सशस्त्र प्रहरी बल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका निमित्त बाहिनिपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कमल प्रसाद तिउसीनाले कर्तव्य पालनाको सिलशिलामा देश र जनताको सुरक्षाको लागि अहोरात्र खटिएर विरगती प्राप्त गरेका बिर अम्मर सशस्त्र प्रहरी शहिदहरुले गौरवमय ईतिहास कोर्न सफल सशस्त्र प्रहरी राष्ट्रकै सफल अंगको रुपमा स्थापीत भएको बताउँदै सशस्त्र प्रहरी ऐन तथा नियमावली अनुरुप प्राप्त सशस्त्र प्रहरी कपिलवस्तुले गरेको राज्यले दिएको जिम्मेवारीलाई उत्कृष्ट तवरले निभाएकोप्रति प्रशंसा गरेका थिए।

यसैगरी,एसएसपी तिउसीनाले सशस्त्र प्रहरी बलको परिचालनको नीतिलाई आत्मसाथ गरी संगठनको भिजन अनुसार सीमा सुरक्षा, आन्तरिक सुरक्षा र राजस्व संकलनको अवधारणालाई प्राथमिकतामा राखी प्रभावकारी र प्रभावशाली तरिकाले आन्तरिक सुधारका विषयहरु पहिचान गरी योजनावद्ध तरिकाले संगठनको उद्धेश्य प्राप्तिको लागि उच्च कोटीको अनुशासन, व्यवहार, आचरण, उच्च मनोबल एवं कार्यकुशलता प्रदर्शन गर्न सशस्त्र प्रहरी नं.२८ गणका गणपतिसहित सकल दर्जालाई  निर्देशन दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी  विश्व प्रकाश अर्यालले कपिलवस्तुको सीमा सुरक्षा, जिल्लाको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कपिलवस्तुले पुऱ्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए। प्रजिअ अर्यालले आगामी दिनमा पनि सशस्त्र प्रहरी बल नं.२८ गणले अझ बढी कटिबद्ध र ब्यवसायीक रही जिम्मेवारी निर्वाहमा निरन्तर योगदान दिई रहने विश्वास लिएको बताए।

उनले भने-"९३ किलोमिटर लामो सीमा रहेको कपिलवस्तुमा जनशक्ति कम हुँदा पनि सुरक्षा सम्बन्धमा धेरै चुनौती हुँदाहुँदै सशस्त्र प्रहरीले गरेको सीमा सुरक्षाको प्रशंसा गर्न लायक छ।"

सोही अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले पनि सशस्त्र प्रहरी कपिलवस्तुले गरेको अवैध तस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण, शान्ती सुरक्षा र सामाजिक कार्यहरुमा गरेको कार्यहरुको प्रशंसा गरेका थिए।

सशस्त्र प्रहरी बल नं. २८ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राम जंग पाण्डेले उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै न्यून जनशक्ति एवं श्रोत साधनहरुको सिमितताका बावजुद कपिलवस्तुको सीमा सुरक्षा, अपराध नियन्त्रण , अवैध तस्करी लगायत अन्य अवैद्य गतिविधि माथि नियन्त्रण  गर्दै आएको बताए । साथै एसपी पाण्डेले यस्तै सशस्त्र प्रहरीले  जनप्रतिनिधी, नागरिक समाज र भारतीय समकक्षी एसएसवीसंग नियमित समन्वय र सहकार्य गर्दै आएको समेत बताए।

 केक काटेर सुरु गरिएको आज सम्पन्न १८ औं  वार्षिकोत्सबका अवसरमा साँस्कृतिक कार्यक्रमहरुसहित बिभिन्न व्यवसायीक तथा खेल प्रतियोगिताहरुमा सर्वोत्कृष्ट हुने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्रले स्वागत गरिएको थियो। कार्यक्रममा १ वर्ष भित्र अवकाश भएका सशस्त्रका कर्मचारी लगायत उत्कृष्ट कार्य गर्ने र  सशस्त्र प्रहरी बललाई सहयोग पुऱ्याएका सामाजिक व्यक्तित्वहरुलाई पनि कदरपत्रले सम्मान गरिएको थियो। सोही अवसरमा अमर सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारजनहरुलाई दोसल्ला ओढाई सम्मानसमेत गरिएको सशस्त्र प्रहरी बल नं.२८  गणले जानकारी दिएको छ।

एसएसपी तिउसीनाको प्रमुख आतिथ्यतामा सम्पन्न  वार्षिकोत्सब कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख, स्थानीय तहका प्रमुखहतु, प्रजिअ अर्याल, नेपाली सेनाका जिल्ला प्रमुख, जिल्ला प्रहरी कपिलवस्तु प्रमुख,  जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मातहत विभिन्न कार्यालयका प्रमुख, पूर्व सशस्त्र प्रहरी संघ कपिलवस्तुका पदाधिकारी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, अमर सशस्त्र प्रहरी कर्मचारीहरुका परिवार, पत्रकार लगायत सशस्त्र प्रहरी बल नं.२८ गणका अधिकृत तथा अन्य सशस्त्र प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्