सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रहरीकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य आजबाट अनिवार्य अवकाश गएकी छिन् ।
२०५१ चैत ५ गते प्रहरी सेवामा प्रवेश गरेकी एआईजी बज्राचार्य एआईजीको ५६ वर्षे उमेरहदका कारण आजबाट अनिवार्य अवकाश गएकी हुन् । उपत्यका प्रहरी कार्यालयको प्रमुख रहेकी एआईजी बज्राचार्यलाई सोमबार नै कार्यालयले बिदाइ गरेको थियो। उनको गत साउन २२ गते उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको थियो।
राम्रो कमान्ड गर्न सक्ने खुबी भएकी बज्राचार्य यसअघि ललितपुर र भक्तपुरको जिल्ला नेतृत्व गरिसकेकी छिन् भने काठमाडौं उपत्यका प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गर्ने पहिलो महिला उच्च अधिकृत समेत हुन् ।
बर्तमान प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको एउटै ब्याजी रहेपनि ३० वर्षे सेवा अवधि केही महिना बाँकि रहेपनि एआईजीको ५६ वर्षे उमेरहदले उनी अनिवार्य अवकाश गएकी हुन् ।
एआईजी बज्राचार्य आईजीपीको दाबेदार भएपनि उनीहरुकै ब्याचबाट कुँवर प्रहरी प्रमुख बनेका थिए।
उनी अवकाश गएसँगै अब नेपाल प्रहरीमा दुई एआईजीको दरबन्दी रिक्त बन्न पुगेको छ। आइतबार ५६ वर्षे उमेरहदका कारण यसअघि नै एआईजी भरत बहादुर बोहरा अवकाश गइसकेका छन् । उनीहरु दुबै जना अवकाश हुँदा ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) एआईजीको बढुवा लाइनमा छन् ।
जसमा सबैभन्दा सिनियर डीआईजी कुवेर कडायत छन् भने अन्य डीआईजीहरुमा रवीन्द्र केसी, जनक भट्टराई र चन्द्रकुबेर खापुङ छन् ।
डीआईजी कडायत, केसी र भट्टराई आईजीपी कुँवरसँगै आगामी चैत ५ गते ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने हुँदा यी तीन जना मध्ये दुई जना एआईजीमा बढुवा हुने निश्चित जस्तै छ। तर खापुङ पनि एआईजी बन्ने दाउमा शक्तिकेन्द्र धाउन सुरु भएको श्रोत बताउँछ । डीआईजी खापुङ भने २०८२ कात्तिकमा अवकाश हुने हुँदा उनको बढुवा सम्भावना त्यति नरहेको प्रहरी निकट श्रोतले बतायो।
यता, एआईजी दीपक थापाका ब्याजी लालमणी आचार्य पनि एआईजी बन्ने दौडमा रहेको प्रहरी श्रोतले जानकारी दिएको छ। हाल मधेस प्रदेशको कमान्ड सम्हालदै आएका डीआईजी आचार्य पनि एआईजी बढुवाका लागि लबिङ गर्न सुरु गरेपनि उनको सम्भावना नरहेको बताइएको छ।