आगामी प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक

मंगलबार, साउन १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । तीन दिनपछि प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अबकाशमा जाँदैछन् । प्रधानन्यायाधीश पद रिक्त हुँदै गर्दा आज आगामी नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि  संवैधानिक परिषद्को बैठक बस्दैछ । 

आज अपराह्न ४ बजेका लागि परिषद्को बैठक    बोलाइएको हो । बैठकको मिति तय गर्नुअघि गत आइतबार प्रचण्डले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

अबको ३ दिनमा प्रधानन्यायाधीश  कार्की अनिवार्य अवकाशमा जाँदैछन् । उनी साउन २० गते अवकाशमा जान लागेका हुन् । 

खासमा भएका प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तर त्यो व्यवस्था लत्याउँदै समय निकै घर्केपछि संवैधानिक परिषद्को बैठक डाकिएको हो । 

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै घरबिदा लिएर बस्ने चलन छ । तर हालका प्रधानन्यायाधीश कार्की गत महिनामात्रै प्रधानन्यायाधीश नियुक्त भएका थिए । 

उनले प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि नै अवकाशको पत्र पाएका थिए । अदालतमा न्यायाधीशहरुकोसमेत नियुक्ति नहुँदा फैसलामा ढिलाइ भएको छ । 

संवैधानिक परिषद्को आजको बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नेछ । कुनै फेरबदल नभए बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्