एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिद्धारा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

सोमबार, पुस १५, २०८१

बर्दिया गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति, महिला विभागको सहयोग तथा समन्वयमा बर्दियास्थित बारबर्दिया नगर अस्पताललाई विभिन्न प्रकारको उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । 

आइतबार गरिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारुले गैरआवासीय नेपाली संघले सहयोग गरेको स्वास्थ्य सामग्रीले नवजात शिशुहरुलाई जीवन प्रदान गर्न अत्यन्तै उपयोगी हुने भएकोले यो सहयोग प्रति अस्पताल र नगर ऋणी रहेको बताए। 

मेयर थारुले गैरआवासीय नेपाली संघको महिला विभागको यो सहयोगले बारबर्दिया नगर अस्पतालको स्वास्थ्य सेवामा सुधार ल्याउने र स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको समेत महत्वपूर्ण हुने बताए ।  स्वास्थ सामग्री हस्तान्तरण गर्दै गैरआवासीय नेपाली संघका केन्द्रीय  प्रतिनिधि तथा पूर्व कोषाध्यक्ष हिक्मत थापाले आफु स्वयम् पश्चिम नेपालको बासिन्दा भएकोले बर्दिया जस्तो विकट ठाउँमा स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा संघका सबै जना हर्षित र उत्साहित भएको बताए। 

थापाले यो सहयोगले बर्दिया क्षेत्रका आम नागरिकहरुलाई केहि हदसम्म भएता पनि गुणस्तरीय स्वास्थ सेवा दिनका लागि सहयोग पुग्ने बताउँदै भविष्यमा अन्य कार्यका लागि पनि सहयोग गर्न सकिने बिचार व्यक्त गरेका थिए । 

स्वास्थ्य सामग्रीका हस्तान्तरणका सम्वन्धमा गैरआवासीय नेपाली संघ केन्द्रीयकी महिला उपाध्यक्ष रोजीना प्रधान राईले यी सामग्रीहरुले बारबर्दिया नगर क्षेत्र लगायत आसपासका बासिन्दाहरुलाई समेत उपयोगी हुने देखेर आफुहरुले संघमा कुरा राखेको र केहि बजेट कम हुने देखिदा संघको महिला समितिका साथिहरुबाट समेत आर्थिक रकम संकलन गरी नगर अस्पताललाई सेवा गर्ने अवसर प्राप्त भएको बताइन् ।

कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डेय, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तिर्थ पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य लगायतको उपस्थिती रहेको थियो ।

सहयोग सामग्रीमा बेबी वार्मर, इन्गेजिङ मसिन, सिआर कल्चर मेसिन, बायोकेमेस्ट्री एनालाइजर, र टेस्ट किटहरू लगायत करिब चार लाख मूल्य बराबरको सामग्री रहेको अस्पताल विकास समितिका अध्यक्ष तीर्थ पौडेलले बताए । 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्