सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । जिल्ला प्रहरी बाँकए नेपालगन्जबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जसअन्तर्गत प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-९ पिलालीपूर्वाबाट ९६ ग्राम ४ सय ९० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई गए राति दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
बाँके प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-१३ बस्ने ४० वर्षीय रहिस कवाडिया र सोही उपमहानगरपालिका-१६ जयसपुरका ४० वर्षीय बदरदिन जसगढ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
अन्य स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ
प्रहरीले देशका विभिन्न स्थानबाट पनि ठुलो परिमाणमा लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ।
जसअन्तर्गत प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-४ साराङ्ग चोकबाट ३७ किलो गाँजासहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-९ बस्ने २३ वर्षीय तिर्थ दर्जी र सुनसरी बराहक्षेत्र नगरपालिका-१ का ४० वर्षीय कृष्ण बिसुङ्खे रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको ग.२ च ८११७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीभित्र प्लाष्टिकमा प्याक गरी लुकाईछिपाई राखेको गाँजा फेला पारी चालक तिर्थ र कारमा सवार कृष्णलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीले उदयपुरको उदयपुरगढी गाउँपालिका-१ धेप्छेबाट ५५ किलो गाँजासहित ताप्ली गाउँपालिका-१ बस्ने ३६ वर्षीय चित्र बहादुर मगरलाई गए राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ शिखरपुरबाट बाहुनिटारतर्फ जाँदै गरेका उनलाई गाँजाको भारी फाली भाग्ने क्रममा पक्राउ गरेको हो । साथै हाल फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ।
यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भई काठमाडौं जोरपाटी बस्ने ३८ वर्षीय नोनो तामाङसमेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
प्रहरीले कैलालीको गोदावरी नगरपालिका-५ गेटा बस्ने २३ वर्षीय कमलेश बमलाई खैरो हेरोइन ७ सय २० मिलिग्राम सहित शुक्रबार राति पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
जुम्लाको तातोपानी गाउँपालिका-५ बाट ७४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले ३ जनालाई आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय नन्दराम नेपाली, २० वर्षीय पंकज सार्की र २१ वर्षीय प्रबेश नेपाली रहेका छन् । प्रहरी चौकी हाँकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका-३ लक्ष्मीनगरबाट ब्राउनसुगर १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-३ झण्डेनगर बस्ने २० वर्षीय आशिस शाहलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीले नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका-२ खुटहटबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ हजार ३ सय १० ट्याब्लेट, फेनारगन १ सय ८९ एम्पुल, डाईजेपाम १ सय ९० एम्पुल, ब्रुप्रेनोर्फिन १ सय ९० एम्पुल र स्पास्मो २ सय ५६ क्यापसुल सहित सुनवल नगरपालिका-२ खुटहट बस्ने २० वर्षीय भुवननाथ कुर्मी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सम्बन्धित प्रहरी कार्यालयले घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।