छानबिनका लागि हेडक्वार्टर तानिए एसपी बिमल डाँगीसहित ४ जिल्लाका एसपी

बुधबार, पुस १०, २०८१

काठमाडौं । सशस्त्र प्रहरीका चार जिल्लाका तराईका एसपीहरु छानबिनका लागि सशस्त्र प्रहरी प्रधान कार्यालय तानिएका छन् ।  

 सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्यालको आदेशमा मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह, धनुषाका एसपी दर्शन गिरी र बाँकेका एसपी बिमल डाँगीलाई छानबिनका लागि सशस्त्र प्रहरी मुख्यालय तानिएको हो।

सबैभन्दा पहिला सशस्त्र प्रहरी प्रधान कार्यालयमा छानबिनमा तानिने  धनुषाका एसपी गिरी हुन् भने अरु तीन जना सोमबार तानिएका हुन् । एसपी गिरी गत बिहिवार तानिएका थिए।

अवैध तस्करीमा मिलेमतो लगायत अन्य आरोप लागेपछि छानबिनका लागि चार जना जिल्ला एसपीहरुलाई मुख्यालय तानिएको सशस्त्र प्रहरी श्रोतले बतायो। अहिले उनीहरुसँग सम्बन्धित विषयमा छानबिन भइरहेको सशस्त्र प्रहरी श्रोतले जानकारी दिएको छ।

श्रोतका अनुसार धनुषाका एसपी गिरीमाथि आर्थिक अनियमितता गरेको उजुरी छ भने अन्य तीन जनामाथि अवैध तस्करी  लगायतका विषयमा उजुरी परेको हो। 

सशस्त्र प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार  छानबिनका क्रममा दोषी उनीहरु दोषी भेटिए कारबाही गरेर अर्कै एसपीहरुलाई पठाइने र निर्दोष पाइए उनीहरुलाई नै फिर्ता पठाउने बताइएको छ। यसअघि पनि एसपी खड्का असारमा मुख्यालय तानिएर फिर्ता गएका थिए।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्