सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आफ्ना सम्पूर्ण साधारण सदस्यलाई मिडिया आबद्धता कायम गरी निरन्तर सञ्चार कर्म गर्न आह्वान गरेको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूका साथै सम्पूर्ण साधारण सदस्यहरूलाई अनिवार्यरुपमा मिडिया आबद्धता कायम गरी संचार कर्म निरन्तररुपमा गर्न आह्वान गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गरेर जिम्मेवार पत्रकारिताका आग्रह समेत गरेको छ ।
शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् पूर्व अध्यक्षहरुको विशेष उपस्थितिमा बसेको बैठकले मंसिर २८ गते भएको नेपाल पत्रकार महासंघको निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, सम्पूर्ण साधारण सदस्य (मतदाता), निवर्तमान कार्यसमिति लगायत सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव कृष्ण वलीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैठकले शाखाको सल्लाहकारमा निवर्तमान अध्यक्ष दामोदर भण्डारी र अध्यक्ष पदका निकटतम प्रतिद्वन्दी प्रदिप वाग्लेलाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।
यस्तै पहिलो वैठकमा उपस्थित पूर्व अध्यक्षहरुबाट प्राप्त सुझाव, मार्गनिर्देशन र पृष्ठपोषणहरुलाई शिरोपर गर्दै नेपाल पत्रकार महासंघ बाँके शाखाको संस्थागत विकास तथा पत्रकारहरुको हकहित र व्यवसायिक सुरक्षाका लागि दृढ संकल्पित भएर काम गर्ने निर्णय पनि बैठकले गरेको अध्यक्ष गिरीले बताए ।