रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि कास्की अदालतमा थुनछेक बहस

सोमबार, पुस ८, २०८१

पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ। जिल्ला अदालत कास्कीमा ३ वटा कसूरमा आइतबार मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री  लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुन लागेको हो । उक्त थुनछेक बहस पेसीमा तोकिएपछिमात्रै सुरु हुनेछ । 

पेसी गोलाप्रथाको आधारमा हुनेछ । जिल्ला अदालत कास्कीमा ६ जना न्यायाधीश छन् । गोलाप्रथाबाटै उनको मुद्दा कसको भागमा पर्ने भन्ने छिनोफानो हुनेछ ।

गत कार्तिक २ गते पक्राउ परी ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका रविमाथि ३ कसूरमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले यही पूरक अभियोगपत्रबाट कारबाही सुरु गर्नसमेत माग गरेको छ । लामिछानेमाथि अन्तिमपटक थपिएको म्याद गत शुक्रबार सकिएको भए पनि शनिबार सार्वजनिक बिदाका कारण आइतबार मात्रै उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

लामिछानेका कानून व्यवसायी, जाहेरवालाकर्ताका कानून व्यवसायी र सरकारका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयले बहस गर्नेछन् । 

बहस सकिएपछि मात्रै उनलाई थुनामा पठाउने, धरौटीमा छाड्ने अथवा सामान्य तारेखमा छोड्ने भन्ने आदेश आउनेछ । सरकारी वकिल कार्यालय कास्कीले लामिछानेविरुद्ध पौने २८ करोड रुपैयाँ बढी बिगो माग दाबी गरेको छ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्