रासायनिक मलको अभाव छैन् : कृषिमन्त्री

सोमबार, साउन १५, २०८०

काठमाडौं । बर्तमान समयमा रासायनिक मलको अभाव नरहेको कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले  बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताए ।

“हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ । गत वर्षजस्तो यस वर्ष अभाव छैन”, मन्त्री भुसालले भने, “सङ्घीय सरकारले आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने गरेका छन् ।” 

उनका अनुसार गत आर्थिक वर्ष २०७९-८० मा मल खरिद गर्न सरकारले कुल  ३८ अर्ब बजेट विनियोजन गरेकामा  ३३ अर्ब बराबरको मल आपूर्ति गरेको थियो।

चालु आवका लागि ३० अर्ब बजेट विनियोजन भएको कृषिमन्त्री भुसालले जानकारी दिनुभयो । गत आवमा खरिद भएको २५ हजार मेट्रिकटनबाहेक सबै नेपाल भित्रिसकेको उनले बताए । 

चालु वर्षको आगामी पुससम्म चाहिने मलका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै मन्त्री भुसालले सरकारले ल्याउने मल गुणस्तरीय रहेको दाबी गरे ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्