एनपीलको उपाधि जनकपुर बोल्ट्सलाई,सुदूरपश्चिम रोयल्स ५ विकेटले पराजित

शनिबार, पुस ६, २०८१

काठमाडौँ । प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो । 

१८५ रनको चुनौती जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । ओपनर ब्याट्सम्यान श्रीलंकाका लहिरु मिलान्थाले ४९ बलमा ८७ रन बनाए । 

त्यस्तै कप्तान आसिफ शेखले १९ बलमा ३३ तथा हर्ष ठाकेरले रन बनाए । कमजोर बलिङ गरेको सुदूरपश्चिमका स्कट कुग्गेलजिन, दिपेन्द्र सिंह ऐरी, सैफ जैब र इशान पाण्डेले १–१ विकेट लिए । 

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । पहिलो १०।१ ओभरमा १०३ रन बनाएको सुदूरपश्चिमले दोस्रो दश ओभरमा भने अपेक्षाअनुसार रन जोड्न सकेन । 

पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरेको सुदूरपश्चिमका लागि सैफ जैबले ४३ बलमा ६९ रन बनाए । त्यस्तै विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए । 

त्यसबाहेक सुदूरपश्चिमका खेलाडीहरुले खासै उल्लेखनीय ब्याटिङ गरेनन् । किशोर महतोले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ललित राजबंशीले १ विकेट लिएका छन् । ललित र सुदूरपश्चिमका स्कटले लिगकै सर्वाधिक समान १७ विकेट लिएका छन् । 

यसअघिका दुवै भिडन्तमा सुदूरपश्चिमले जनकपुरलाई हराएको भए पनि फाइनलमा जनकपुरले बदला लिएको हो । 

जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ८ विकेटले पराजित भएको थियो भने लिग चरणमा ७२ रनले पराजित भएको थियो । 

बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनल पुगेसँगै सुदूरपश्चिमसँग उपाधि भिडन्त गरेको थियो । 

उपाधि विजेता जनकपुरले एक करोड १० लाख रुपैयाँ जितेको छ । सुदूरपश्चिमले ५१ लाख रुपैयाँ पाएको छ । 

तेस्रो भएको कर्णाली याक्सले २५ लाख तथा चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ पाएको छ । 

 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह